विश्व स्वास्थ्य दिवसको अवसरमा बुटवल हस्पिटलद्वारा ६४ युनिट रक्तदान

Shares

बुटवल, २५ चैत्र। विश्व स्वास्थ्य दिवसको अवसरमा बुटवल हस्पिटल प्रा. लि.ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। पछिल्लो समय रगतको अभाव भैरहेको अवस्थामा “रक्तदान जीवनदान” भन्ने नारासहित आयोजित कार्यक्रममा ६४ युनिट रगत संकलन गरिएको छ।

बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ। यस वर्ष पनि वार्षिक कार्यतालिकाअनुसार आयोजना गरिएको कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, अन्य मेडिकल तथा प्रशासनिक कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, क्यान्टीन कर्मचारी, विरामीका आफन्त तथा शुभेच्छुकहरुको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी रक्तदातालाई प्रमाणपत्र प्रदान गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले रगतको अभाव न्यूनीकरण तथा जनचेतना अभिवृद्धिको उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले, “एक जनाले रगत दिएर अर्कोको जीवन बचाउन सकिन्छ भन्ने भावना फैलाउन पनि यस्तो कार्यक्रम आवश्यक छ,” भन्नुभयो।

एक सय शैयाको क्षमता रहेको बुटवल हस्पिटलले रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरेको हो। अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले सो जानकारी दिनुभयो।

You may also like

skip


This will close in 5 seconds