रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
सोमबार साँझ शिवगढिया मोडमा लु १ च २७६३ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ।
घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पतालमा र १९ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, रानीगाउँमा उपचार भइरहेको छ।
प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार, तीव्र गतिमा रहेको भ्यान मोडमा अनियन्त्रित भएर पल्टिएको थियो। भ्यानमा सवार २४ जना यात्रु मायादेवी मन्दिरमा मुण्डन संस्कार सकेर घर फर्कँदै थिए।
दुर्घटनापछि सवारी चालक अशोक पासी (२६), शुद्धोधन गाउँपालिका–४ बिठुवाका बासिन्दा,लाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। प्रहरीका अनुसार सामान बोक्ने पिकअप भ्यानमा क्षमताभन्दा धेरै यात्रु चढेकाले गाडीको सन्तुलन बिग्रँदा दुर्घटना भएको हो।