बुटवलमा जारी टी–२० क्रिकेट कप : स्टार क्रिकेट एकेडेमी र इलिट जीआर विजयी

Shares

बुटवलको नयाँ रोनापुर खेलमैदानमा जारी १४ वर्षमुनिको टी–२० क्रिकेट कप प्रतियोगिताको चौथो दिन सोमबार दुई खेल सम्पन्न भएका छन्। वेस्टर्न क्रिकेट क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा सोमबार स्टार क्रिकेट एकेडेमी र इलिट जीआर विजयी भएका छन्।

पहिलो खेलमा शान्ति नमुनालाई ६ विकेटले पराजित गर्दै स्टार क्रिकेट एकेडेमीले लगातार जित कायम राखेको छ। टस जितेर ब्याटिङ गरेको शान्ति नमुनाले २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनायो। टोलीका कोशिस पाण्डेले सर्वाधिक १२ रन बनाए। बलिङतर्फ स्टार क्रिकेट एकेडेमीका अब्राहम अली र दिपेन्द्र रेग्मीले समान २–२ विकेट लिए भने राहुल ओली, क्षेत्री, शिव गुप्ता र आशिष यादवले १–१ विकेट लिए।

जवाफमा स्टार क्रिकेट एकेडेमीले १४.३ ओभरमा ४ विकेट गुमाउँदै ८८ रन बनाएर जित दर्ता गर्‍यो। आनन्द कुमार यादवले २५ रन, अब्राहम अली र अनिश भट्टराईले समान २२–२२ रन जोडे। शान्ति नमुनाका सफल पाठकले ३ विकेट र कोशिस पाण्डेले १ विकेट लिए। अब्राहम अली म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा इलिट जीआरले गार्गी एकेडेमीलाई ९८ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको इलिटले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनायो। अरुण इन पोख्रेलले ४२, कृष्ण पन्थीले २१ र प्रशान्त अधिकारीले २० रन बनाए। गार्गी एकेडेमीका अनमोल पुनले ३ विकेट लिए भने स्पन्दन गैरेले २ र हार्दिक शाही, दुर्गा नारायण शाही र क्षेत्रीले १–१ विकेट लिए।

जवाफी इनिङ्समा गार्गी एकेडेमी ११.३ ओभरमा सबै विकेट गुमाउँदै ४७ रनमै समेटियो। गौरव घिमिरेले सर्वाधिक १६ रन बनाए। इलिटका ओमलाल क्षेत्रीले ३ विकेट, कृष्ण पन्थी र पारस अधिकारीले २–२ तथा आयुष केवालीले १ विकेट लिए। म्यान अफ द म्याच इलिटका कृष्ण पन्थी घोषित भए।

प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल विशाल क्रिकेट एकेडेमी र नवज्योति स्कुलर्सबीच तथा दोस्रो खेल रुपन्देही क्रिकेट एकेडेमी र गार्गी एकेडेमीबीच हुनेछ।

१२ टिम सहभागी प्रतियोगिता वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ। विजेता टोलीले ४१ हजार रुपैयाँ, उपविजेताले २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। क्लबका अध्यक्ष भुवन पाण्डेले जानकारी दिए।

You may also like

skip


This will close in 5 seconds