भैरहवा कारागारको ब्लक नम्बर ४ मा रवि लामिछाने थुनामा

Shares

बुटवल ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको जिल्ला कारागार भैरहवामा थुनामा राखिएको छ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि सोमबार कारागार चलान गरिएको हो। आदेशको मिसिल प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी सुरज कार्कीको नेतृत्वमा उनलाई जिल्ला अदालत पेस गरिएको थियो।

अदालतले थुनुवा पूर्जी जारी गरेलगत्तै लामिछानेलाई कारागार लगिएको हो। डीएसपी कार्कीको नेतृत्वमा उनलाई कारागार पुर्‍याइएको थियो।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेको करिब एक घण्टा स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि उनलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ। भण्डारीका अनुसार सो ब्लकमा हाल लामिछाने एक्लै छन् र उनको स्वास्थ्य अवस्था सामान्य छ।

उच्च अदालतको आदेशपछि कारागार प्रशासनले लामिछानेलाई राख्न विशेष कक्षको व्यवस्था गरेको छ, जुन कारागार भवनको मुख्य भागभन्दा बाहिर रहेको स्रोतको भनाइ छ।

गत शुक्रबार राति काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो। शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको उनी सोमबार अदालत पेस गरिएका थिए।

सोमबार बिहान उनलाई अदालत लैजाँदै गर्दा भैरहवामा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। अदालत मार्ग, परिसर, जिल्ला कारागार क्षेत्र लगायतका स्थानहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देखिएको थियो।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न उच्च अदालतले आदेश दिएको हो।

You may also like