नग्रेन्द्र केसि
शुद्वोदन ।”समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” भन्ने मूल नाराका साथ शुद्धोदन गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण तथा घरदैलो कार्यक्रम शनिबार सम्पन्न भएको छ।
शुद्धोदन गाउँपालिका–४ स्थित शुद्धोदन अपाङ्ग संघको आयोजनामा तथा शुद्धोदन गाउँपालिका कार्यालय, मानपकडीको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमले अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउने उद्देश्य राखेको थियो। कार्यक्रमको उद्देश्य अपाङ्गता भएका नागरिकहरूलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराई उनीहरूको दैनिकीलाई सहज बनाउनु रहेको आयोजक पक्षले जानकारी दिएको छ।
कार्यक्रम अन्तर्गत शुद्धोदन गाउँपालिकाका सबै सातै वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको घर–घरमा पुगेर प्रत्यक्ष रूपमा सामग्री वितरण गरिएको थियो। संघका अध्यक्ष विष्णुबहादुर थापाका अनुसार, उक्त अवसरमा ७ थान व्हीलचेयर, १० जोडी बैशाखी, १ थान वाकर, ४ थान सेतो छडी र १ थान बेबी स्टोलर वितरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता शुद्धोदन अपाङ्ग संघका अध्यक्ष थापाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले सहभागिता जनाउनु भयो। सामग्रीहरू वितरण गर्दै अध्यक्ष बस्यालले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको सेवामा पहुँच सुनिश्चित गराउन सबै तहका निकायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
“सरकारी मापदण्डअनुसार अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण गर्ने विषयमा अझै पनि राज्य संयन्त्रहरू कमजोर छन्,” उहाँले भन्नुभयो, “अबको दिनमा हामीले ठूला कार्यक्रममार्फत व्यापक अपाङ्ग समुदायलाई समेट्ने गरी काम गर्नुपर्छ। बजेट पनि त्यही अनुसार विनियोजन हुनेछ।”
कार्यक्रममा शुद्धोदन वडा नं. ५ का अध्यक्ष चन्द्रभान चौधरी, वडा नं. ४ का अध्यक्ष तथा पालिका प्रवक्ता केशवप्रसाद अधिकारी, वडा नं. ७ का अध्यक्ष भीम नारायण चौधरी, शुद्धोदन अपाङ्ग संघका सचिव सागर क्षेत्री, सदस्यहरू विष्णुप्रसाद अधिकारी, रामप्रसाद थारु, इन्द्रराज थारु, पत्रकार लगायतको सक्रिय उपस्थिति थियो।
शुद्धोदन अपाङ्ग संघले पछिल्लो समय समुदायमै पुगेर आवश्यकताअनुसार सेवाहरू पु-याउने कार्यलाई प्राथमिकता दिँदै आएको छ। संघका अध्यक्ष थापाका अनुसार, आगामी दिनहरूमा स्वास्थ्य, शिक्षा तथा रोजगारसँग सम्बन्धित कार्यक्रमहरूसमेत सञ्चालन गर्दै लैजाने योजना रहेको छ।
यस किसिमको सहायक सामग्री वितरण कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई हौसला प्रदान गर्नुका साथै उनीहरूको सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।