बुटवल कालिकानगरमा शिव टोल विकास संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न

Shares

बुटवल । बुटवल, वडा नं. ११ कालिकानगरस्थित शिव टोल विकास संस्थाको १५औं वार्षिक साधारणसभा शनिबार एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। संस्थाले निरन्तर टोलको सामाजिक, आर्थिक तथा भौतिक विकासमा योगदान दिँदै आएको छ।

टोलका अध्यक्ष शालिकराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र खनाल प्रमुख अतिथि रहेका थिए। उनले वडाको तर्फबाट टोलको विकासका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै हरेक सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको बताए। खनालले स्थानीय स्तरमा भएका विकास निर्माणका कार्यहरूमा टोलवासीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए।

टोलका अध्यक्ष शालिकराम पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष सुवासचन्द्र ढकालले आर्थिक प्रतिवेदन पेश गरे, जसलाई सर्वसम्मतले पारित गरिएको थियो। संस्थाले वार्षिक रूपमा गर्ने सामाजिक गतिविधिहरू, आर्थिक व्यवस्थापन तथा विकास योजनाहरूको समीक्षासमेत गरिएको थियो। कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष गंगा थापा, यमप्रसाद आचार्य, मेलमिलापकर्ता विष्णुप्रसाद भण्डारी, शिवालय मन्दिरका अध्यक्ष रुद्रप्रसाद भण्डारी, शान्तिपथ टोलका अध्यक्ष लक्ष्मी गौतम तथा टोलका सदस्यहरू कमला गौतम र विनिराम पौडेलले मन्तव्य राखेका थिए। उनीहरूले संस्थाको वर्तमान गतिविधिहरूको प्रशंसा गर्दै अझै प्रभावकारी काम गर्न सुझाव दिएका थिए।

कार्यक्रममा ज्येष्ठ नागरिक अमर खड्का, मोतिलाल जैसी, चन्द्रप्रकाश शर्मा, सोमनाथ घिमिरे, पुरन श्रेष्ठ र बुद्धकाजी शाक्यलाई सम्मान गरिएको थियो। उनीहरूको समाजसेवा तथा टोलको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानपत्र प्रदान गरिएको थियो। साथै, प्लस टु उत्तीर्ण विद्यार्थीहरू कृतिका कार्की, अन्जिता अर्याल, उत्सव अर्याल र उत्सव भट्टराईलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै संस्थाले आगामी वर्षहरूमा शैक्षिक गतिविधिहरूलाई अझ प्रवद्र्धन गर्ने योजना रहेको जनाएको छ।

शिव टोल विकास संस्था २०६१ साल पुस ६ गते दर्ता भई २०७८ सालमा पुनः दर्ता भएको हो। यस संस्थाले स्थानीय तहसँग समन्वय गर्दै विकास निर्माणका कार्यहरूलाई निरन्तरता दिँदै आएको छ। टोलका अध्यक्ष पौडेलले टोललाई वर्तमान अवस्थामा ल्याउन योगदान दिने सम्पूर्ण टोलवासी, सरोकारवाला निकाय तथा नगरपालिकालाई हार्दिक आभार व्यक्त गरे। उनले टोलको दीर्घकालीन विकासका लागि संस्थागत संरचनालाई अझ बलियो बनाउँदै नयाँ योजनाहरू अगाडि बढाइने जानकारी दिए।

कार्यक्रममा टोलका उपाध्यक्ष विष्णु कुमारी गौतमले स्वागत मन्तव्य दिएकी थिइन् भने सचिव तारादेवी लम्सालले कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रमको अन्त्यमा सहभागीहरूले आगामी दिनमा टोलको विकासका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

You may also like