बुटवल । अर्घाखाँची ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०८२ सालको भित्ते पात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलबासेले उद्घाटन गरे। उनले समाज छोटो समयमा नै धेरै रचनात्मक काम गर्न सफल भएको भन्दै प्रशंसा गरे। उनका अनुसार सम्पर्क समाज भनेको के हो भन्ने उदाहरण ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाज आफैं बनेको छ।
बेलबासेले सम्पर्क समाज ढाकावाङ्गबाट रुपन्देही आएका व्यक्तिहरूबीच सुख-दुःख साट्ने चौतारीका रूपमा स्थापित भएको बताए।
कार्यक्रममा संस्थाका सल्लाहकार प्रेम प्रसाद पौडेल, नयाँगाउँ खानेपानी सरसफाइ तथा उपभोक्ता समिति बुटवल १२, १३ का सहसचिव ढुण्डिराज खनाल लगायतले समाजलाई अझै सशक्त बनाउन सबै सदस्यको अपनत्व आवश्यक रहेको बताए।
समाजका अध्यक्ष कृष्णप्रसाद खनालले २०८० जेठ १३ गते गठन भएको संस्थाले क्यालेन्डर प्रकाशन, रक्तदान, तीज मिलन, मौलिक देउसी-भैलो, विपद्मा परेकालाई आर्थिक सहयोग जस्ता विभिन्न रचनात्मक कामहरू गर्दै आएको जानकारी दिए। साथै, समाजलाई थप बलियो बनाउन सबै सदस्यहरू एकजुट हुनुपर्नेमा जोड दिए।
यस्तै, समाजले विपद् जोखिम कोष स्थापना गरेको जानकारी दिँदै कार्यवाहक सचिव टेकराज भुसालले उक्त कोषमा संस्थाका अग्रज तथा नयाँगाउँ खानेपानी संस्थाका सहसचिव ढुण्डिराज खनालले १० हजार रुपैयाँ जम्मा गरेको जानकारी दिए।
कार्यक्रम अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षता, कार्यवाहक सचिव टेकराज भुसालको सञ्चालन तथा उपाध्यक्ष युवराज खनालको स्वागत मन्तव्यमा सम्पन्न भयो। त्यस्तै, गत फागुन २४ गते सम्पन्न नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा निर्वाचित सदस्यहरू ढुण्डिराज खनाल, घनश्याम पौडेल, अन्जना खनाल (पौडेल) र मिना खनाल (आचार्य) लाई सम्मान-पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिइयो।
			        

												
														

