बुटवल। बश्याल वंश समाज नेपालको २९औँ साधारणसभा तथा स्थापना दिवस शनिबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रम रुपन्देहीको तिलोत्तमा नगरपालिका–16 पर्सहवास्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको थियो।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बश्यालले गरेका थिए। आफ्नो सम्बोधनमा उनले बश्याल समुदाय जहाँसुकै रहे पनि संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिए। मन्त्री बश्यालले आपसी भाइचाराको अभिवृद्धि गर्दै समाजलाई राष्ट्रिय हित, कल्याण, उन्नति, र प्रगतिमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए। साथै, समाजको केन्द्रीय कार्यालय भवन निर्माण सम्पन्न गर्न आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाए।
समाजका केन्द्रीय अध्यक्ष रामप्रसाद बश्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना सार्वजनिक गरे। उनले समाजको मुख्य उद्देश्य बश्याल समुदायलाई एकताबद्ध गर्दै सामाजिक सहयोग र भाइचाराको भावना प्रवर्द्धन गर्नु रहेको बताए। अध्यक्ष बश्यालले निर्माणाधीन केन्द्रीय कार्यालय भवन आगामी एक वर्षभित्रै सम्पन्न गर्न सबै सदस्यलाई एकजुट भएर सहयोग गर्न आग्रह गरे। उनले समाजका विविध गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन क्षेत्रीय समितिहरूसँग थप समन्वय गरिने जानकारी दिए।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव हरिप्रसाद बश्याल, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बश्याल, बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धिरज बश्याल, सल्लाहकार कौषलराज बश्याल, रुपन्देही क्षेत्रीय समितिका अध्यक्ष बालकृष्ण बश्याल, पर्वत क्षेत्रीय समितिका अध्यक्ष नुमाखर बश्याल, कपिलवस्तु क्षेत्रीय समितिका सदस्य अर्जुन बश्याल, काठमाडौं क्षेत्रीय समितिका अध्यक्ष मिनप्रसाद बश्याल, पोखरा क्षेत्रीय समितिका उपाध्यक्ष देविप्रसाद बश्याल, प्राध्यापक प्रेम बश्याललगायतले समाजलाई अझ सक्रिय बनाउन आवश्यक सुझाव प्रस्तुत गरे।
समाजका कोषाध्यक्ष होमकान्त बश्याल (शंकर) ले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने महासचिवको प्रतिवेदन सचिव जीवलाल बश्यालले प्रस्तुत गरेका थिए। आर्थिक प्रतिवेदनमा भवन निर्माण, समाजका विविध गतिविधिहरू, तथा भावी योजनाका लागि आवश्यक आर्थिक व्यवस्थापनबारे विस्तृत चर्चा गरिएको थियो। उपस्थित दाताहरूलाई समाजको गतिविधिमा निरन्तर सहयोग गर्न आग्रह गरिएको थियो।
साधारणसभा अवसरमा आयोजित रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक कृष्णप्रसाद बश्यालले जानकारी दिए। साथै, समाजले तिलोत्तमा–16 पर्सहवामा सुविधासम्पन्न दुईतले केन्द्रीय कार्यालय भवन निर्माण गरिरहेको जानकारी गराइएको छ। भवनको पहिलो तलामा ३०० जना अट्ने सभाहल, माथिल्लो तलामा केन्द्रीय तथा क्षेत्रीय कार्यालय, बैठक हल, पूजारी कोठालगायत सुविधा रहनेछ। २०८० असारमा शिलान्यास भएको उक्त भवनको पहिलो तलाको ढलान सम्पन्न भइसकेको छ। कुल लागत दुई करोड ५० लाख अनुमान गरिएको निर्माण कार्यमा आर्थिक अभाव भएकोले सहयोगका लागि दाताहरुलाई आग्रह गरिएको छ।
कार्यक्रममा समाजले प्रकाशन गरेको नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो विमोचन समेत गरिएको थियो। समाजका उपाध्यक्ष होमराज बश्यालको स्वागत मन्तव्य तथा सचिव जीवलाल बश्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। यस अवसरमा समाजका विभिन्न उपलब्धिहरू, भावी योजनाहरू, तथा समाजलाई अझ सशक्त बनाउन आवश्यक पहलबारे चर्चा गरिएको थियो। उपस्थित सदस्यहरूले समाजलाई अझ व्यापक बनाउन र समुदायको हितका लागि निरन्तर योगदान गर्न प्रतिबद्धता व्यक्त गरे।