काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबारको जनप्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने निष्कर्ष निकालेको छ ।
आज (शनिबार) पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार नै हिंसा भड्काउन उद्दत रहेको ठहर गर्दै घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न माग गरेको छ । पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शान्तिपूर्ण सभामा सरकारले सुनियोजित रूपमा अश्रुग्यास प्रहार गरेको आरोप लगाए ।
उनले भने, ‘प्रधानमन्त्रीले अघिल्लो दिन प्रतिकार गर्न आह्वान गर्नु भयो, हिंसा भड्काउन हौसला दिनुभयो । मञ्चमा शान्तिपूर्ण कार्यक्रम भइरहँदा ताकेर अश्रुग्यास प्रहार गरियो, जसले सरकार प्रदर्शन भड्काउन चाहन्थ्यो भन्ने स्पष्ट हुन्छ।’ उनले पत्रकार सुरेश रजकलाई बचाउन सकिने अवस्था हुँदा पनि सरकार उदासीन बनेको र प्रहरीले अनावश्यक रूपमा गोली चलाएको दाबी गरे ।
राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा सहभागी नेताहरू रविन्द्र मिश्र, धवल शमशेर जबरा र अधिवक्ता स्वागत नेपाललगायतलाई २४ घण्टाभित्र बिना शर्त रिहाइ गर्न माग गरेको छ । अध्यक्ष लिङ्देनले रिहाइ नभए विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।
उनले भने, ‘राप्रपा सधैं हिंसाको विपक्षमा छ, तर हिजोको घटनामा सरकारको संलग्नता छ । व्यवसायिक भवनमा लुटपाट हुँदा पनि सुरक्षाकर्मीले रोक्न सकेनन् ।’ वैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका सुरेश रजक र सविन महर्जनलाई शहीद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ । शुक्रबारको घटनालाई लिएर पूर्वराजा शाहलाई राजनीतिमा तान्ने प्रयास रोक्न आग्रह गरेको छ । राप्रपाले सरकारको कदमविरुद्ध थप रणनीति बनाएर अघि बढ्ने जनाएको छ ।