पूर्वराजालाई पक्राउ गर्न खोजिदैछ : सुवेदी (विज्ञप्ती)

Shares

काठमाडौं । ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाह समेतलाई सरकारले पक्राउ गर्न खोजेको भन्दै विरोध जनाएका छन् ।

तीनकुने क्षेत्रमा शुक्रबारको आन्दोलनपछि नजरबन्दमा रहेका सुवेदीले शनिबार विज्ञप्ति जारी गरी शाहलाई नजरबन्द वा पक्राउ गर्ने तयारी भइरहेको समाचार बाहिर आएको भन्दै आपत्ति जनाएका छन् । त्यसो भएमा देशभरबाट आम नागरिक स्वतःस्फूर्त विरोधमा उत्रिने चेतावनी समेत उनले दिएका छन् ।

शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा सङ्घर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकारले नियोजित घुसपैठ गराएको सुवेदीको दाबी छ । त्यसपछि प्रहरी दमनका कारण सभा बिथोलिएको उनको दाबी छ ।

उनले आन्दोलनका कमान्डर दुर्गा प्रसाई लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, कार्यक्रमपछि जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवलशमशेर राणा तथा प्रवक्ता स्वागत नेपाल लगायतलाई पक्राउ गर्ने र आफूलाई समेत घरमै नजरबन्दमा राख्ने कार्य भएको भन्दै सुवेदीले विरोध जनाएका छन् ।

उनले जनताद्वारा गरिने आन्दोलन कुनै पनि नेताको इसारामा नचल्ने र जनचाहना तथा जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै गर्ने दाबी गरेका छन् । आफूहरू सदैव शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको उनको भनाइ छ ।

You may also like