बुटवल । नेपाल पत्रकार महासंघले आज ७० औँ स्थापना दिवस मनाउँदै छ। २०१२ साल चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो, जसलाई २०५३ साल जेठ २९ गते महासंघमा रुपान्तरण गरिएको थियो। सोही दिनलाई आधार मान्दै महासंघले प्रत्येक वर्ष चैत १६ गते स्थापना दिवस मनाउने गर्दछ।
तर, यस वर्ष महासंघले पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरी देशभर शोकसभा तथा विरोध कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको छ। गत शुक्रबार काठमाडौंमा राजावादी आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको निधन भएपछि महासंघले यो निर्णय लिएको हो।
राजावादी प्रदर्शनकारीहरूले आन्दोलनका क्रममा एक घरमा ढुङ्गामुढा र आगजनी गरेका थिए। सोही घरको माथिल्लो तलाबाट भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजक आगलागीमा परेर गम्भीर घाइते भए। उपचारका क्रममा उनको निधन भएको थियो।
यस घटनाको विरोधमा महासंघ रुपन्देही शाखाले आज बिहान ११ बजे विरोधसभा आयोजना गरेको छ। महासंघले यसअघि तय गरेको मिडियाकप फुटसल प्रतियोगिता स्थगित गरेको छ भने अब उक्त प्रतियोगिता आइतबारदेखि सञ्चालन गरिने महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिएका छन्।