बुटवल । सीएसआईटी एसोसिएसन अफ रुपन्देहीले तनाव व्यवस्थापन र जीवन सन्तुलन विषयमा एक विशेष कार्यक्रम आयोजना गरेको छ। शुक्रवार तिलोत्तमा स्थित ड्राइभरटोल होराइजन जिबिएसमा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न कलेजका ४० जना विद्यार्थी र अन्य सहभागीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रशिक्षक उज्ज्वल खरेलले तनाव व्यवस्थापनका बारेमा आफ्नो विचार प्रस्तुत गर्दै भने, “तनाव कम गर्न ध्यान, योग र श्वासप्रश्वास अभ्यास निकै प्रभावकारी छन्। यी अभ्यासहरूले तनाव कम गर्न, मन शान्त राख्न र रिस नियन्त्रण गर्न मद्दत गर्छ।” उनले सबैलाई नियमित अभ्यास गर्न सुझाव दिए जसले मानसिक शान्ति र शारीरिक स्वास्थ्यमा सुधार ल्याउने बताए ।
त्यसैगरी, प्रशिक्षक निरज श्रेष्ठले विद्यार्थीहरूले आफ्नो कामको प्राथमिकता मिलाउने महत्त्वपूर्ण कुरा उठाए। उनले भने, “मैले विशेष गतिविधिहरू संचालन गरी सहभागीहरूलाई आफ्ना समस्याहरू पहिचान गर्न र समाधान खोज्न प्रेरित गरेको छु। यसको माध्यमबाट उनीहरूले आफ्नो दैनिक जीवनमा कस्ता परिवर्तनहरू गर्न सक्नेछन् भन्ने कुरा बुझ्न सके।”
सीएसआईटी एसोसिएसन अफ रुपन्देहीकि अध्यक्ष कृतिमा खनालले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै, “तनाव कम गर्न र जीवनलाई सन्तुलित बनाउन यस्ता कार्यक्रमहरू निकै प्रभावकारी हुनेछन्,। उनले यस्ता कार्यक्रमहरूले सहभागीहरूलाई मानसिक रूपमा मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन।
कार्यक्रममा सहभागी भएका विद्यार्थी र अन्य व्यक्तिहरूले पनि कार्यक्रम निकै उपयोगी भएको बताए। उनीहरूले भने कि यस कार्यक्रमले उनीहरूलाई मानसिक शान्ति र जीवनशैली सुधार गर्ने नयाँ र उपयोगी तरिकाहरू सिक्न मद्दत पुर्याएको छ।
सीएसआईटी एसोसिएसन अफ रुपन्देहीले भविष्यमा यस्ता कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाएको छ, जसले विद्यार्थीहरू र समुदायको जीवनस्तर सुधार गर्न मद्दत पुर्याउँछ।