बुटवल । ११औं बुटवल श्री अन्तरप्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा चैत १६ गते शनिबार हुने प्रतियोगिताबारे जानकारी दिइएको हो। प्रतियोगितामा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, कर्णाली र मधेश गरी पाँच प्रदेशका १५० भन्दा बढी खेलाडीको सहभागिता रहनेछ।
लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठका अनुसार प्रतियोगिताले नवप्रतिभा उत्पादनसँगै शारीरिक सुगठन खेलको प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको छ। विगत दुई दशकदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको श्रेष्ठले बताए।
प्रतियोगिता पुरुष शारीरिक सुगठनतर्फ ५५, ६०, ६५, ७०, र ७० केजीभन्दा बढी गरी पाँच तौल समूहमा हुनेछ। महिलातर्फ भने खुला फिजिक्स प्रतियोगिता हुनेछ। प्रत्येक जिमबाट अधिकतम पाँच खेलाडीले भाग लिन पाउनेछन्, साथै एक टिम म्यानेजरले टिमको प्रतिनिधित्व गर्न सक्नेछन्।
विजेताहरूलाई विभिन्न आकर्षक पुरस्कार प्रदान गरिनेछ। वुमन फिजिक्स समूहको पहिलो स्थान हासिल गर्ने खेलाडीले मेडल, प्रमाणपत्र, ट्रफी तथा नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
पुरुष शारीरिक सुगठनतर्फ प्रत्येक तौल समूहका विजेताले मेडल, प्रमाणपत्र तथा ओभरअल प्रतियोगितामा भाग लिने अवसर प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः ८ हजार र ५ हजार नगद पुरस्कार पाउनेछन्।
बजन समूहका विजेताहरूबीच हुने अन्तिम प्रतिस्पर्धाबाट ओभरअल विजेता घोषित गरिनेछ। ओभरअल च्याम्पियनलाई १ लाख रुपैयाँ नगद, ट्रफी, उपहार तथा “बुटवल श्री” उपाधिबाट सम्मानित गरिनेछ। उपविजेता चार जनालाई जनही १० हजार नगद र ट्रफी प्रदान गरिनेछ।
धर्म श्रीपछि निरन्तर सञ्चालन हुँदै आएको यो प्रतियोगिता प्रतिष्ठित मानिन्छ। यसअघि १०औं संस्करण बुटवलमा सम्पन्न भएको थियो। लुम्बिनी प्रदेश शारीरिक सुगठन संघको नेतृत्वमा यस पटक मधेश प्रदेश समेत समेट्दै पाँच प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको हो।