काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने बताएका छन् । आज बनेपा नगरपालिकाको ४४औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले कसैले भाषण गरेकै भरमा जनताको अधिकार खुम्च्याउन नहुने बताए ।
‘संघीय लोकतान्त्रिक–गणतन्त्रात्मक संविधान कार्यान्वयन तथा अभ्यासका क्रममा केही कमी कमजोरी देखापरे यसका विधि परिवर्तन गर्न सकिन्छ, कसैले भाषण गरेकै भरमा व्यवस्था डगमगाउन दिन हुँदैन’, उनले भने । उनले संविधान संशोधन गर्नुपरे सबै पक्षसँग छलफल गरेर अघि बढ्ने बताए ।
मन्त्री सिंहले ‘स्मार्ट सिटी’ को प्रसङ्गमा नेपालको सन्दर्भमा कस्तो बनाउने भन्नेबारे ‘ग्लोबल रिजनल र इन्टरनेशनल’ अभ्यासका सूचकबारे बुझेर अघि बढ्ने बताए । बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकका तीन नगरपालिकाहरु बनेपा, पनौती र धुलिखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माणका विषयमा एशियाली विकास बैंक (एडिबी) ले चासो दिएको र सो विषयमा मन्त्रालयले ताकेता गरी छिटो निर्माण अघि बढाइने मन्त्री सिंहले जानकारी दिए ।