काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने तयारी गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
तर कुलमानले मन्त्रिपरिषद्को निर्णयपत्र पाए लगत्तै अदालत जाने तयारी गरेका हुन् । असोजदेखि ऊर्जामन्त्री दीपक खड्का र घिसिङबीच सम्बन्ध बिग्रिएको थियो । पछिल्लो पटक मन्त्री खड्काले आफू वा कुलमान रोज्नू भनेपछि घिसिङलाई हटाउन सरकार बाध्य भएको बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का कुलमानसँग पहिलेदेखि नै असन्तुष्ट थिए ।
उनले कुलमानलाई हटाउन पाँचचोटि त स्पष्टीकरण नै सोधेका थिए। मन्त्री खड्काले कुलमानसँग स्पष्टीकरण लिन मन्त्रिपरिषदमै प्रस्ताव लगेका थिए । मन्त्रिपरिषद्ले सोधेपछि पनि कुलमानले स्पष्टीकरण बुझाएका थिए । उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै आज उनलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको हो ।