बुटवलमा अब्यवस्थित बसोबासी जग्गाको नापजाँच सुरु

Shares

बुटवल।बुटवलमा अब्यवस्थित बसोबासी जग्गाको नापजाँच आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ माथिल्लो मजुवामा सोमबार आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले नापजाँच कार्यको शुभारम्भ गरे। प्रमुख पाण्डेयले बुटवलमा १६ हजारभन्दा बढी भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसोबासी रहेको भन्दै उनीहरूको हातमा लालपुर्जा नआएसम्म आफूलाई मेयर भएको अनुभूति नहुने बताए।

उनका अनुसार, २००९ सालदेखि बसोबास गर्दै आएका नागरिकहरूले समेत लालपुर्जा नपाएको अवस्था रहेकाले भूमि आयोगले अब्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नेगरी जग्गाको नापजाँच कार्य अघि बढाएको छ।

वडा नं. ११ को विकासका लागि २५ करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी दिँदै प्रमुख पाण्डेयले आगामी वर्ष आवश्यकताअनुसार थप बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए। साथै, तिनाउ-दानव करिडोरबाट विस्थापित हुन लागेका स्थानीयहरूलाई नयाँ मापदण्ड अनुरूप समाधान खोजिने उल्लेख गरे।

भूमि आयोग रूपन्देहीका अध्यक्ष कुमार थापाले रूपन्देही देशकै दोस्रो बढी भूमिहीन तथा अब्यवस्थित बसोबासी रहेको जिल्ला भएको उल्लेख गर्दै आयोगले समस्या स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता जनाए।

वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले आफ्नो वडामा भूमिहीन र सुकुम्बासीको संख्या अत्यधिक रहेको बताउँदै लालपुर्जा वितरण हुने विश्वास व्यक्त गरे।

बुटवल उपमहानगरपालिकाका नापी शाखा प्रमुख त्रिदेव बुढाथोकीका अनुसार, पहिलो चरणमा तीन कित्ता जग्गाको लालपुर्जा वितरण गर्न स्वीकृति दिइएको छ, जसअनुसार नापजाँच कार्य सुरु गरिएको हो।

पटक-पटक आयोग गठन भए पनि लालपुर्जा नपाएका स्थानीयहरू नापजाँच कार्य सुरु भएपछि उत्साहित देखिएका छन्।

टोल विकास संस्थाका आत्म बहादुर रानाले विगत २६ वर्षदेखि आयोग गठन, फाराम भर्ने, नापजाँच गर्ने कार्य दोहोरिए पनि लालपुर्जा नपाएको गुनासो गर्दै यसपटक लालपुर्जा पाउनेमा आशावादी रहेको बताए।

स्थानीय इन्द्रा बिष्ट र लक्ष्मी कंडेलले अब्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरण गर्न जग्गा नापजाँच सुरु भएकामा खुसी व्यक्त गरे।

You may also like