बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले यही चैत २५ गते परिषद् सभा गर्ने निर्णय गरेको छ। संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको विधानअनुसार परिषद् सभा गर्ने निर्णय गरेको महासचिव मुक्तिप्रसाद अधिकारी ले जानकारी दिए। संघका अध्यक्ष हरिप्रसाद अर्याल को अध्यक्षतामा बसेको बैठकले महासचिवलाई परिषद् सभामा प्रस्तुत गरिने प्रतिवेदन तयारी तथा सदस्यहरूलाई पत्राचार गर्ने जिम्मेवारी तोकेको छ।
त्यसैगरी, यही चैत २८ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा मा संघबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू चयन गरिएको छ। साधारण सभामा संघका तर्फबाट अध्यक्ष हरिप्रसाद अर्याल प्रमुख प्रतिनिधि तथा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई प्रतिनिधिका रूपमा सहभागी हुनेछन्। परिषद् सभामा संघले प्रकाशन गरेको २०८२ सालको क्यालेन्डर समेत विमोचन गरिनेछ।
बुटवल उद्योग वाणिज्य संघमा पुनः ‘विजनेस इन्क्युबेशन सेन्टर’ स्थापना
संघले उद्यमशीलता विकासका लागि विजनेस इन्क्युबेशन सेन्टर पुनः स्थापना गर्ने भएको छ। यसअघि २०७६ सालदेखि संचालनमा आएको उक्त केन्द्रलाई नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र ले पुनः स्थापना तथा सञ्चालनका लागि रु. २० लाख अनुदान उपलब्ध गराएको छ।
घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले बुटवल उपमहानगरपालिका मार्फत बुटवल उद्योग वाणिज्य संघलाई अनुदान निकासा गरिसकेको छ। सोमबार बसेको संघको कार्यसमिति बैठकले बुटवल उपमहानगरपालिकामा पत्राचार गरी अनुदान हस्तान्तरण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
संघका अध्यक्ष हरिप्रसाद अर्याल ले उद्यमशीलता प्रवर्द्धनका लागि यसअघि दुई पटक विजनेस इन्क्युबेशन कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट राम्रो प्रतिफल प्राप्त भएको बताए। सरकारी तहबाट प्राप्त अनुदानले नवउद्यमीहरूलाई प्रोत्साहन गर्दै उद्यम विकासमा महत्वपूर्ण योगदान दिने उनको विश्वास छ।
संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू ले विगतका सफलताकै कारण सरकारले पुनः सहयोग गरेको बताए। उनले अघिल्ला अनुभवलाई उपयोग गर्दै यसपटकको कार्यक्रम झन प्रभावकारी र सफल बनाउने प्रतिबद्धता व्यक्त गरे।
बैठकमा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए।