बुटवलका युवा समाजसेवी भरत के.सी. सम्मानित

Shares

बुटवल। समाजसेवालाई आफ्नो जीवनको अभिन्न अंग बनाउँदै निरन्तर निःस्वार्थ सेवामा समर्पित बुटवलका सामाजिक युवा अभियन्ता भरत के.सी.लाई धनमुडा चौर समाज, बुटवलले विशेष सम्मान प्रदान गरेको छ। समाज सेवामा दशकौँ बिताइसक्दा पनि युवाजस्तै जोश, जाँगर र ऊर्जाका साथ निरन्तर साधन स्रोत संकलन, शिक्षा, स्वास्थ्य, खेलकुद, तथा सामाजिक अभियानहरूमा योगदान दिइरहेका के.सी.लाई समाजले प्रेरणाका रूपमा सम्मान गरेको हो।

धनमुडा चौर समाजका अध्यक्ष देव थापाले के.सी.को योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै भने, “अहिलेको समयमा निःस्वार्थ समाजसेवामा लाग्ने व्यक्ति कमै भेटिन्छन्। असल समाजसेवी असाधारण सोच र उदार मन भएका हुन्छन्। हामीले समाज परिवर्तनमा योगदान गर्ने युवाहरूलाई हौसला दिन तथा आगामी पुस्तालाई प्रेरित गर्ने उद्देश्यले सम्मान गर्ने निर्णय गरेका हौँ।”

विगत दुई दशकदेखि विभिन्न संघ–संस्थामा आबद्ध रहँदै समाजको हितमा सक्रिय भूमिका निर्वाह गरिरहेका के.सी.ले समाजसेवा नै आफ्नो जीवनको सार बनेको बताए। “समाजसेवाबाट प्राप्त हुने सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि र खुशी हो। म यही दुई कुराको लागि मानवताको मैदानमा निरन्तर लागिरहेको छु,” उनले भने। सम्मान प्राप्त गरेपछि आफ्नो योगदानलाई कदर गरेकोमा उनले धनमुडा चौर समाजका अध्यक्ष देव थापा तथा सम्पूर्ण समाजलाई धन्यवाद व्यक्त गरे। साथै, यस सम्मानले आफूलाई अझ बढी उर्जाशील बनाउन प्रेरित गरेको बताए।

कार्यक्रममा भरत के.सी.सँगै समाज परिवर्तनका लागि विभिन्न माध्यमबाट योगदान पुर्याइरहेका पत्रकार, दन्त चिकित्सक तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो। समाजसेवाका माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित आयोजना गरिएको यो सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका अग्रणी व्यक्तिहरूको उपस्थिति रहेको थियो।

धनमुडा चौर समाज, बुटवलले आगामी दिनमा पनि सामाजिक योगदान दिने व्यक्तित्वहरूको पहिचान गर्दै यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

You may also like