बुटवल। भैरहवाको अञ्चलपुरमा शनिबार (चैत ९) राजसंस्थाको समर्थनमा बृहत् मोटरसाइकल र्याली आयोजना गरिने भएको छ। आयोजकका अनुसार र्याली दिउँसो ठीक २:३० बजे होटल सिद्धार्थ भिलासा अगाडि भेला भएर सुरु हुनेछ।
कार्यक्रमका संयोजक सिबिर बिक्रम शाहका अनुसार यो र्याली राष्ट्रको एकता, स्थायित्व, र उन्नतिको पक्षमा जनताको आवाज बुलन्द गर्न आयोजना गरिएको हो। शाहले भने, “महाराजधिराजबाट भएको सम्बोधनपछि रुपन्देहीसहित समग्र नेपालीको आशा श्री ५ महाराजधिराज सरकारमै केन्द्रित भएको छ। यही समर्थन जनाउन हजारौँ जनताको सहभागितामा मोटरसाइकल र्याली गर्न लागिएको हो।”
र्याली भैरहवाको अञ्चलपुरबाट सुरु भई एयरपोर्ट, आँखा अस्पताल, गल्लामण्डी, बैंक रोड हुँदै जिल्ला प्रहरी कार्यालयसम्म पुग्नेछ। अन्त्यमा कोणसभा गरी समापन गरिनेछ। कोणसभामा वक्ताहरूले राजसंस्थाको पुन:स्थापनाका साथै राष्ट्रको समृद्धि र स्थायित्वका विषयमा आफ्ना धारणा राख्ने छन्।
शाहका अनुसार यो र्यालीमा रुपन्देहीका १६ ओटै स्थानीय तहका नागरिकहरूका साथै छिमेकी जिल्ला नवलपरासी र कपिलवस्तुबाट पनि उल्लेख्य सहभागिता रहनेछ। स्थानीय युवाहरू, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले स्वत:स्फूर्त रूपमा समर्थन जनाउने अपेक्षा गरिएको छ।
सिबिर बिक्रम शाहले देशमा संघीय प्रदेश संरचना आवश्यक नरहेको बताउँदै हालको व्यवस्थाले राष्ट्रिय अखण्डतामा नै प्रश्न उठाएको बताए। उनले भने, “आफ्नै देशलाई ‘प्रदेश’ भनेर इङ्कित गर्नु गलत हो। हालको व्यवस्थाले अराजक गतिविधि, भ्रष्टाचार, र आर्थिक अपचलनलाई बढावा दिएको बताए ।
शाहका अनुसार नेपाललाई सुदृढ र समुन्नत बनाउनका लागि पुन: राजसंस्थाको नेतृत्व आवश्यक छ। उनले भने, “देशलाई सही मार्गमा डोहो-याउन, स्थिर सरकार दिन, र राष्ट्रिय पहिचान जोगाउन राजसंस्था पुन:स्थापनाको विकल्प छैन।”
यो र्यालीले नेपाली जनताको चाहना स्पष्ट पार्ने आयोजकको दाबी छ। कार्यक्रम शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षाकर्मीको उपस्थिति समेत रहने जनाइएको छ।