बुटवल । सैनामैनाको मुर्गियामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कपिलवस्तु ११ ले आफ्नो पोल्टामा पार्न सफल भएको छ।
मुर्गिया फुटबल क्लबको आयोजनामा बुधवार सम्पन्न फाइनल खेलमा कपिलवस्तु ११ ले अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
सैनामैना रंगशालामा सम्पन्न फाइनल खेलमा कपिलवस्तु ११ का लागि विदेशी खेलाडी मोहम्मदले निर्णायक गोल गरेका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ५०औं मिनेटमा मोहम्मदले डि बक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
फाइनल खेलमा कपिलवस्तु ११ ले ५ जना र अभिषेक चर्चले ४ जना विदेशी खेलाडी मैदानमा उतारेका थिए। १० दिनसम्म चलेको प्रतियोगितामा नेपालका दुई विभागीय टिमसहित भारतको एक टिमसमेत गरी कुल १० टिमको सहभागिता रहेको थियो।
प्रतियोगितामा उपाधि विजेता कपिलवस्तु ११ ले नगद ७ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता अभिषेक चर्च रजहर नवलपुरले नगद ४ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगिताको समापन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहेको थियो। प्रमुख अतिथि रहेका प्रचण्डले सैनामैनामा खेलकुदका संरचनाहरू विकास भइरहेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा आफ्नो पार्टीबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, फुटबल खेलप्रति आफ्नो विशेष रुचि रहेको बताउँदै खेलाडीहरूलाई शुभकामना पनि दिए।
समापन समारोहको उद्घाटन प्रचण्डले पानसमा बत्ति बालेर गरेका थिए। कार्यक्रममा सुनगाभा पब्लिक स्कूलका प्रधानाध्यापक तिलक केसी, सैनामैना वडा नम्बर ४ का वडाध्यक्ष रामप्रसाद अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए।