प्रतिगामी शक्तिविरुद्ध लाखौं जनता सडकमा उतार्ने प्रचण्डको चेतावनी

Shares

बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन्।

बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सत्तारुढ गठबन्धनले भ्रष्टाचार र विचौलियालाई प्रश्रय दिएको आरोप लगाए। उनले जनतामा निराशा र असन्तुष्टि बढ्दै गएकाले विगतमा असफल ठहरिएका प्रतिगामी तत्वहरूले पुनः अवसर खोजिरहेको टिप्पणी गरे। अध्यक्ष प्रचण्डले यस्ता हर्कतहरू रोक्न आवश्यक परे लाखौं जनता सडकमा उतारिने चेतावनी दिए।

अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल शक्तिका रूपमा आफ्नो पार्टीले यस व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि क्रान्तिकारी शक्ति तथा जनतालाई एकजुट गराउने बताए। उनले आवश्यकता परे राजधानी काठमाडौंमै लाखौं जनता उतारेर संघर्ष गर्ने घोषणा गरे।

अग्रगामी एजेन्डा र अधिकार रक्षा

उनले जनताले प्राप्त गरेका अधिकारहरू जोगाउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता विषयहरूलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताए। उनले संघीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्व जस्ता अधिकार खोस्ने कुनै पनि प्रयास असफल पार्न माओवादी केन्द्र दृढ रहेको स्पष्ट गरे।

अध्यक्ष प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायहरूको ऐतिहासिक र निर्णायक भूमिका रहेको उल्लेख गर्दै जातीय क्षेत्रीय मोर्चाहरूलाई पुनः सशक्त बनाउन लागिएको जानकारी दिए। उनले पार्टीको केन्द्रीय समितिले समाजवादी क्रान्तिमा जातीय क्षेत्रीय मोर्चाहरूको अझ बढी भूमिका आवश्यक रहेको निष्कर्ष निकालेको बताए।

उनले विभिन्न जातीय क्षेत्रीय मोर्चाहरूलाई पुनः सक्रिय बनाउने नीति अनुरूप तामाङ, गुरुङ, थारु, र मगर मोर्चाहरूको सम्मेलन सम्पन्न गरिसकेको जानकारी दिए भने अन्य मोर्चाहरूको भेला सम्मेलन गर्दै लैजाने योजना रहेको बताए।

अध्यक्ष प्रचण्डले मगर समुदायले नेपालको परिवर्तनका लागि उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरे। उनले प्रथम सहिद लखन थापा मगरदेखि जनयुद्धका सहिद तेजमान घर्ती, ललि रोका, कुमारी बुढालगायत मगर समुदायका हजारौं सदस्यले देश परिवर्तनका लागि बलिदान दिएको स्मरण गराए।

उनले मगर योद्धाहरूले कठोर यातना सहेर पनि आत्मसमर्पण नगरेको इतिहास रहेको भन्दै गणतन्त्र स्थापनापछि महिला, जनजाति, मधेसी लगायत उत्पीडित समुदायका व्यक्तिहरू उच्च पदमा पुग्न सफल भएको बताए। अब परिवर्तनको रक्षा र सामाजिक न्यायका लागि पनि उत्पीडित समुदायहरू अग्रसर हुनुपर्ने उनको भनाइ छ।

You may also like