दाङ-रुपन्देही सम्पर्क समाजको स्थापना दिवसमा बृहत सरसफाई अभियान

Shares

बुटवल। दाङ-रुपन्देही सम्पर्क समाज, रुपन्देहीले आफ्नो पहिलो स्थापना दिवस बुटवलको नयाँ बसपार्कमा बृहत सरसफाई कार्यक्रमसहित मनाएको छ। २०८० फागुन २७ गते जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा दर्ता भई स्थायी तथा अस्थायी रूपमा रुपन्देहीमा बसोबास गर्दै आएका दाङबासीलाई संगठित गर्दै समाजले सामाजिक तथा मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

समाजले यसअघि बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको साताव्यापी सरसफाई अभियानमा समेत सहभागिता जनाएको थियो। साथै, नेपाल स्वयंसेवी रक्तदाता संघ, रुपन्देहीसँग मिलेर रक्तदान कार्यक्रम, पत्रकारहरूका लागि निःशुल्क मृगौला परीक्षण शिविर, पारिवारिक बनभोज तथा समाजका सदस्यहरूलाई आपतकालीन अवस्थामा सहयोग प्रदान गर्ने जस्ता कार्यक्रमहरू सञ्चालन गरिसकेको छ।

संस्थाका अध्यक्ष रेशम बहादुर महराका अनुसार, पहिलो स्थापना दिवसलाई रचनात्मक रूपमा मनाउने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको हो। उनले भने, “हामी वर्षमा एकपटकमात्र नभई निरन्तर रूपमा सामाजिक कार्यहरूमा सक्रिय रहने प्रण गर्छौं। अबको हाम्रो योजना बुटवल हस्पिटल प्रा.लि.सँग सहकार्य गरी समाजका सदस्यहरूलाई स्वास्थ्य सेवामा केही छुटको सुविधा दिलाउने छ।”

सरसफाई कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष नरेन्द्र बहादुर वस्नेतले विगतमा आफूले दाङबासी भएको कारण अपमानित महसुस गर्नुपरेको स्मरण गर्दै, हाल समाज स्थापना भई सामाजिक कार्यमा संलग्न हुन पाउँदा खुसी लागेको बताए। उनले समाजलाई अझ सशक्त बनाएर ‘समाजसेवाको तेस्रो आँखा’ बन्न आग्रह गरे।

बुटवल उपमहानगरपालिकाका वातावरण तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोख्रेलले छोटो समयमै समाजले उल्लेखनीय कार्य गरेको बताउँदै नगरपालिकासँग सहकार्य गरेर आगामी दिनमा थप सामाजिक गतिविधि अघि बढाउन सकिने प्रतिबद्धता जनाए।

कार्यक्रममा समाजका सल्लाहकार माधब वस्नेत, शंकर बिक, बुटवलबाट प्रकाशित एक दैनिक पत्रिकाका सम्पादक सुमन अधिकारी, अस्थायी प्रहरी बिट, नयाँ बसपार्ककी इन्चार्ज बिमला एजी, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. र बुटवल यातायात प्रा.लि.का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सरसफाई कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष लोकमणि भट्टराईका अनुसार, बसपार्क क्षेत्रमा चारवटा डस्टबिन राखेर फोहोर व्यवस्थापनलाई थप व्यवस्थित बनाउने प्रयास गरिएको छ। महासचिव रमा सुबेदीले नागरिकलाई सरसफाईप्रति सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन्।

You may also like