बुटवल हस्पिटलद्वारा बरेङमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६०० भन्दा बढीले सेवा लिए

Shares

बुटवल ।बुटवल हस्पिटल प्रा. लि. ले बागलुङको बरेङ गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। विशेषज्ञ चिकित्सकहरूको सहभागितामा सम्पन्न शिविरमा ६०० भन्दा बढी बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्। बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौर नयाँ बजार स्वास्थ्य चौकीमा आयोजित शिविरमा ल्याब परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको थियो।

शिविर धनमुडा चौर समाज बुटवलको आयोजनामा सम्पन्न भएको थियो भने बुटवल हस्पिटल प्रा. लि. ले प्राविधिक सहयोग प्रदान गरेको थियो। बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले शिविर उद्घाटन गर्दै गाउँघरमा रोग लुकाएर बस्ने बिरामीहरूका लागि यस्ता शिविर अत्यन्त लाभदायी हुने बताए। उनले निःशुल्क स्वास्थ्य सेवा मार्फत धेरै बिरामीहरूलाई जीवनरक्षा गर्न सकिने उल्लेख गरे।

धनमुडा चौर समाज बुटवलका अध्यक्ष देव थापाले बसाइँसराइपछि तराईमा रहे पनि आफ्नो जन्मस्थानमा निःशुल्क स्वास्थ्य शिविर लगायतका समाजसेवाका कार्यक्रम गर्न समाज सधैं तयार रहेको बताए। शिविरमा दम र आँखाका बिरामी बढी देखिएको भन्दै उनीहरूलाई निःशुल्क औषधि र चश्मा वितरण गरिएको थियो। गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा स्थानीय खुसी भएका थिए।

शिविरमा बुटवल हस्पिटल प्रा. लि. का वरिष्ठ ग्यास्ट्रोलोजिस्ट डा. पुष्पराज ढकाल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. उत्सव रेग्मी र डा. संजिव आचार्य, वरिष्ठ जनरल फिजिसियन डा. सागर पौडेल, छाला रोग विशेषज्ञ डा. प्रदीप शर्मा, डा. सुनिल सुनार, डा. दिपक ढकाल, डा. उमेश वेलवासे, डा. प्रविना कुँवर, डा. अमृत बस्याल, डा. हरिराम पन्थी, डा. प्रतिक सापकोटा सहित ल्याब टेक्निसियन र औषधि वितरण टोलीको विशेष भूमिका रहेको थियो।

बुटवल हस्पिटल प्रा. लि. का मेडिकल कोअर्डिनेटर राजु पौडेल र मार्केटिङ म्यानेजर सुमन तिमिल्सिनाले शिविरको समन्वय गरेका थिए। वडा नं. ३ मा आयोजना गरिएको भए पनि बरेङ गाउँपालिकाभरिका बिरामीहरूले सेवा लिएका थिए। वडा अध्यक्ष शेर बहादुर खनालले शिविरलाई बृहत बनाउन बुटवल हस्पिटल प्रा. लि. का अध्यक्ष चुन्न प्रसाद पौडेल र धनमुडा चौर समाजका अध्यक्ष देव थापाको टिमले महत्वपूर्ण भूमिका खेलेको बताए।

शिविर सञ्चालनमा सहयोग गर्ने धनमुडा चौर समाज बुटवल, बुटवल हस्पिटल प्रा. लि., हाम्रो हेल्थ क्लिनिक, मल्टिस्टार, आले डेन्टल लगायतका संस्थाका प्रतिनिधिहरूलाई वडा कार्यालयको तर्फबाट सम्मान गरिएको थियो।

You may also like