तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता चैत ९ गतेदेखि सुरु हुने

by समतल अनलाइन
Shares

बुटवल। रुपन्देहीको प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष चैतको पहिलो सातादेखि आयोजना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजन तथा प्रदेश खेलकुद परिषद लुम्बिनीको सहकार्यमा प्रतियोगिताको २३ औं संस्करण चैत ९ गतेदेखि सुरु हुनेछ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी गराए। उनले तिलोत्तमा गोल्डकपलाई नेपालका प्रमुख चार गोल्डकपमध्ये एक रहेको बताए। उपाधि विजेता टिमलाई नगद रु. १२,१२,२२२, गोल्डकप र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टिमले नगद रु. ६,६६,६६६ प्राप्त गर्नेछ। विधागत उत्कृष्ट खेलाडीहरू (गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच) लाई नगद रु. ३१,००० र कप प्रदान गरिनेछ।

सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार दिइनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद रु. ११,१११ प्रदान गरिनेछ। यस वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्याङ्दी क्लब प्रतियोगितामा सहभागी नहुने भएको छ। प्रतियोगितामा रुपन्देही–११, संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज क्लब, थ्री स्टार क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, एडोर्न गडवाल स्पोर्टिङ क्लब (भारत) र उज्वेकिस्तान टिमलाई सहभागिताका लागि निमन्त्रणा पठाइएको छ।

नगरप्रमुख खेलराज पाण्डेय, उपमेयर सावित्रादेवी अर्याल तथा नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले खेलकुद पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार र खेल गतिविधिहरूलाई प्राथमिकता दिइएको बताए। प्रतियोगिता चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुनेछ भने यसका लागि अनुमानित खर्च रु. १ करोड ८ लाख ८८ हजार रहेको छ।

You may also like

This will close in 0 seconds