बुटवल। आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर बुटवल बहुमुखी क्याम्पसमा विवाद चुलिएको छ। सात विद्यार्थी संगठनहरूले मतदाता नामावली प्रकाशनमा अपारदर्शिता रहेको आरोप लगाउँदै संयुक्त रूपमा विरोध जनाएका छन्।
विद्यार्थी संगठनहरूका अनुसार मतदाता नामावलीमा ४०१ जना अवैध मतदाता समावेश गरिएको दाबी गरिएको छ। साथै, स्ववियु कोषको आर्थिक पारदर्शितामा प्रश्न उठाउँदै अनियमितताको आशंका गरिएको छ। उनीहरूले स्ववियुका कार्यक्रमहरू एकल विद्यार्थी संगठनलाई केन्द्रित गरेर सञ्चालन गरिएको आरोप लगाएका छन्।
यसैबीच, पटक–पटक छलफल भए पनि समस्या समाधान नभएको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (समाजवादी), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी), नेपाल मगर विद्यार्थी संघ, अखिल क्रान्तिकारी बहुमत, र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन ले क्याम्पस प्रशासनविरुद्ध तालाबन्दी गरेका छन्।
संयुक्त संगठनहरूले निष्पक्ष निर्वाचनको माग गर्दै सहमति बिना तालाबन्दी खोल्ने प्रयास भए थप आन्दोलन चर्काउने चेतावनी दिएका छन्। विद्यार्थी हकहित र शैक्षिक संस्थामा पारदर्शिता सुनिश्चित गर्न आवश्यक पहल नभए कडा संघर्ष गर्ने उनीहरूको चेतावनी छ।