“रेडियो मुक्तिको आयोजनामा बुटवलमा महिला दौड प्रतियोगिता सम्पन्न, प्रकृति घिमिरे प्रथम र कल्पना बस्नेत “

बुटवल। ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘महिला सशक्तिकरण, स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ बुटवलमा शनिबार खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ।

रेडियो मुक्ति बुटवलको आयोजनामा, कालिका स्वाबलम्बन सामाजिक केन्द्र तथा सेतो गुराँस बालविकास सेवा रुपन्देहीको सह-आयोजनामा, साथै बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, विभिन्न वित्तीय तथा सामाजिक संघसंस्थाहरू र क्लबहरूको सहकार्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा ५ किलोमिटर दौडतर्फ कालिका मानवज्ञान माविकी प्रकृति घिमिरेले २३ मिनेट २८ सेकेण्ड ३४ प्रतिसेकेण्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरिन्। उनले नगद रु १०,०००, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। मानवज्ञान माविकी नै कृति पराजुलीले २३ मिनेट ३९ सेकेण्ड १४ प्रतिसेकेण्डमा दुरी पार गर्दै द्वितीय स्थान हासिल गरिन् र नगद रु ७,०००, मेडल तथा प्रमाणपत्र प्राप्त गरिन्। त्यस्तै ज्ञानोदय माविकी इश्वरी बि.क.ले २४ मिनेट ३० सेकेण्ड ५० प्रतिसेकेण्डमा दुरी पार गर्दै तृतीय स्थान प्राप्त गरिन्। उनले नगद रु ५,०००, प्रमाणपत्र र मेडल प्राप्त गरिन्।

त्यस्तै, २ किलोमिटर महिला दौडतर्फ बुटवल–९ की कल्पना बस्नेतले ९ मिनेट ५९ सेकेण्ड १६ प्रतिसेकेण्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरिन्। उनले नगद रु ५,५००, प्रमाणपत्र तथा मेडल प्राप्त गरिन्। ज्ञानोदय माविकी कल्पना पल्लीले ९ मिनेट ५९ सेकेण्ड ८४ प्रतिसेकेण्डमा दौड पूरा गरी द्वितीय स्थान प्राप्त गरिन्। उनले नगद रु ४,५००, प्रमाणपत्र तथा मेडल प्राप्त गरिन्। तिलोत्तमा–९ की रामकुमारी गाहाले १० मिनेट ३४ सेकेण्ड ३५ प्रतिसेकेण्डमा दुरी पार गर्दै तृतीय स्थान प्राप्त गरिन्। उनले नगद रु ३,०००, प्रमाणपत्र तथा मेडल प्राप्त गरिन्।

५ किलोमिटर दौड प्रतियोगितामा १४ देखि २१ वर्ष उमेर समूहका महिलाहरूको सहभागिता रहेको थियो भने २ किलोमिटर दौडमा २१ वर्षभन्दा माथिका महिलाहरू सहभागी थिए।

विजयी प्रतियोगीहरूलाई रेडियो मुक्तिका उपाध्यक्ष तथा महिला दौड कार्यक्रमका अध्यक्ष कविता अर्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, समृद्धि हेयर ड्रेसिङ्ग सलुन बुटवलका सञ्चालक मोहन ठाकुर, उपहार सुज हाउसका सञ्चालक उमा देवकोटा, इनरव्हील डिष्ट्रिक ३५० का चेयरम्यान आशा श्रेष्ठ, सफ्टी हाईजिन प्रा. लि.का बजार अधिकृत विश्वास पोखरेल, कृष्णमाया कार्की लगायतले पुरस्कार प्रदान गरे।

कार्यक्रमका मुख्य प्रायोजक सफ्टी हाईजिन प्रा. लि., उपहार सुज हाउस, समृद्धि हेयर ड्रेसिङ्ग सलुन बुटवल, तथा पाथवे बुटवल एब्रोड स्टडी प्रा. लि. थिए। यी संस्थाहरूले विजेता ६ जना तथा दौडमा सहभागी सबैभन्दा कम र सबैभन्दा बढी उमेरका महिलाहरूलाई विशेष गिफ्ट ह्याम्पर प्रदान गरे।

५ किलोमिटर दौड प्रदेश प्रमुख कार्यालयबाट सुरू भई मिलनचोक हुँदै फाइनान्ससम्म पुगेर पुनः प्रदेश प्रमुख कार्यालयमा आएर सम्पन्न भएको थियो। २ किलोमिटर दौड प्रदेश प्रमुख कार्यालयबाट सुरू भई ट्राफिकचोक पुगेर पुनः सोही स्थानमा फर्किएर समापन गरिएको थियो।

प्रतियोगितामा बुटवलका विभिन्न विद्यालय, सरकारी तथा गैरसरकारी संघसंस्था र अन्य महिला गरी करिब ४५० जनाको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गरेका थिए। उनले खेल क्षेत्रमा लगानी गरेर महिलाहरूलाई सशक्त बनाउन आवश्यक रहेको उल्लेख गरे। साथै, उपमहानगरपालिकाले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम अगाडि बढाइरहेको बताए। २ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिताको उद्घाटन उपप्रमुख साबित्रा देवी अर्यालले गरेकी थिइन्। उनले महिलाहरूलाई खेलमा संलग्न गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताइन्।

बुटवल उपमहानगरपालिकाले महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका सफल महिलाहरूलाई सम्मान गर्ने घोषणा गरेको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले रेडियो मुक्तिले आयोजना गर्ने कार्यक्रमहरू महिला सशक्तिकरणसँग प्रत्यक्ष रूपमा जोडिएको हुनाले स्थानीय सरकारको निरन्तर सहयोग रहने बताए।

रेडियो मुक्तिका सचिव सबिता निरौलाले महिला खेलाडी उत्पादन तथा सशक्तिकरणका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताइन्। उनले महिला अधिकारका लागि रेडियोले विभिन्न कार्यक्रमहरू गर्दै आएको उल्लेख गरिन्।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक इन्द्रबहादुर राना, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकाल, कार्यक्रम सह-आयोजक संस्था कालिका स्वाबलम्बन सामाजिक केन्द्रका अध्यक्ष मनिदप सिंह, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, खेल प्राविधिक प्रमुख मोहन घले लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीले गरेकी थिइन्।

शनिबार ११५औं अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) ‘महिला र बालिकाको लागि: अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय नाराका साथ विश्वभर मनाइँदैछ। रेडियो मुक्ति २०६५ सालमा स्थापना भएको महिलाहरू मात्र आबद्ध संचार संस्था हो। बुटवल–४ मा स्टुडियो रहेको रेडियो दैनिक १७ घण्टा प्रसारण हुँदै आएको छ।

 
 
  
 

You may also like

skip


This will close in 5 seconds