शुद्धोधन गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीका लागि तीनदिने क्षमता विकास तालिम सम्पन्न

बुटवल। रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने क्षमता विकास तथा पुनर्ताजगी तालिम सम्पन्न भएको छ। बिहीबारबाट सुरु भएको तालिम शनिबार गाउँपालिकाको सभा हलमा औपचारिक रूपमा समापन गरिएको हो।

तालिममार्फत जनप्रतिनिधि र कर्मचारीबीच समन्वय, कार्य सम्पादनको प्रभावकारिता, सार्वजनिक खरिद ऐन, सेवा प्रवाहलाई चुस्त बनाउने उपायहरू, र नेतृत्व विकास जस्ता विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले तालिमको महत्त्वबारे प्रकाश पार्दै काम गर्ने क्रममा जनप्रतिनिधि र कर्मचारीबीच कसरी तादात्म्यता मिलाउने र कसरी समन्वय गरेर कार्यसम्पादन गर्ने भन्ने विषयमा यो तालिम महत्वपूर्ण रह्यो भन्दै सार्वजनिक खरिद ऐनका प्रावधान तथा प्रक्रियाहरूको सही कार्यान्वयनमा यसले ठूलो योगदान पुर्‍याउने बताए।

गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हेम खड्काले तालिमबाट प्राप्त सिकाइको महत्त्व दर्शाउँदै व्यक्ति चित्रले भन्दा पनि चरित्रले चिनिनुपर्छ भन्दै राम्रो चरित्रले स्वतः राम्रो छवि बनाउने बताए। उनले सकारात्मक सोच राख्नु नै राम्रो देखिनु हो भन्दै यस तालिमले हामीलाई यही सन्देश दिएको उल्लेख गरे। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले स्थानीय तहमा सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन तालिमको योगदान उल्लेखनीय भएको बताए। उनले जनप्रतिनिधि र कर्मचारी मार्फत सेवाग्राहीले सहज सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यो तालिम आयोजना गरिएको बताउँदै यसले स्थानीय प्रशासनलाई थप चुस्त-दुरुस्त बनाउन मद्दत गर्ने उल्लेख गरे।

उक्त तालिमलाई छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका सल्लाहकार लेखनाथ पोख्रेल, अभिव्यक्त झंकार कुवर, तथा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले सहजीकरण गरेका थिए। उनीहरूले संघीय शासन प्रणालीमा स्थानीय सरकारको भूमिका, नीति तथा कानुनी व्यवस्था, प्रभावकारी सेवा प्रवाहका उपायहरू, र कार्यसम्पादन सुधार जस्ता विषयमा प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रमको स्वागत गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले गर्नुभएको थियो भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी खत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। शुद्धोधन गाउँपालिकाद्वारा आयोजित यो तीनदिने क्षमता विकास तथा पुनर्ताजगी तालिमले जनप्रतिनिधि र कर्मचारीहरूलाई जिम्मेवारी बहन गर्न थप प्रेरित गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास दिलाएको छ। तालिममा सहभागीहरूले आफ्नो कार्यक्षमता वृद्धि भएको महसुस गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताएका छन्।

 
 
  
 

You may also like

skip


This will close in 5 seconds