सुनगाभा गोल्ड कप: कपिलवस्तु ११ को शानदार जीत, सेमिफाइनलमा स्थान सुनिश्चित

by समतल अनलाइन
200Shares

बुटवल ।कपिलवस्तु ११ सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार सैनामैना फुटबल रंगशालामा सम्पन्न खेलमा कपिलवस्तु ११ ले फर्सीटिकर युथलाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। कपिलवस्तुका लागि मोहम्मद इन्द्रेसले २ तथा विज्ञान गुरुङले १ गोल गरेका थिए।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको सुरुवातमै कपिलवस्तुका जर्सी नम्बर १० का विदेशी खेलाडी मोहम्मद इन्द्रेसले गोल गर्दै टिमलाई अग्रता दिलाए। उक्त गोलका लागि जर्सी नम्बर १४ का मिन प्रसाद मिदुनले असिस्ट गरेका थिए। खेलभरि नै कपिलवस्तु ११ फर्सीटिकर युथमाथि हावी देखियो।

७५औं मिनेटमा जर्सी नम्बर ५ का विज्ञान गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाए भने ८१औं मिनेटमा पुनः मोहम्मद इन्द्रेसले गोल गरी टिमको सेमिफाइनल यात्रा सुनिश्चित गरे। फर्सीटिकर युथले गोल गर्ने थुप्रै अवसर पाए पनि सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सेमिफाइनल खेलहरू आइतबारदेखि सुरु हुँदैछन्। पहिलो सेमिफाइनल खेल आयोजक मुर्गिया फुटबल क्लब र अभिषेक चर्च रजहर नवलपुरबीच दिउँसो ३ बजे हुने खेल संयोजक अशोक खड्काले जानकारी  दिए ।

मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिकाको संरक्षकत्वमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ।

यसैगरी, सुनगाभा पब्लिक स्कूल मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ४०–४० हजार प्रदान गरिने क्लबका अध्यक्ष प्रविन भारीले जानकारी दिए ।

Comments

You may also like