महाबिर क्लब काठमाडौं प्रथम सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश

बुटवल । महाबिर क्लब काठमाडौंले रुपन्देहीको सैनामैनामा जारी प्रथम सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ।

सैनामैना फुटबल क्लबको आयोजनामा बिहीबार सम्पन्न खेलमा महाबिर क्लबले हनामी बीएफसी चितवनलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो। खेलको दुईवटै गोल महाबिरका जर्सी नम्बर १७ का खेलाडी सुरज चौधरीले गरेका थिए। उत्कृष्ट प्रदर्शन गरेका चौधरी खेलको म्यान अफ द म्याच घोषित भए।

खेलको पहिलो र दोस्रो हाफमा महाबिर क्लबले खेललाई आफ्नो नियन्त्रणमा राख्दै एक दर्जनभन्दा बढी अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेन। उता, हनामी बीएफसीका खेलाडीहरूले पनि दुई उत्कृष्ट अवसर सिर्जना गरे तर मिसपासका कारण गोल गर्न असफल रहे।

प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ। शुक्रबारको खेल आयोजक मुर्गिया फुटबल क्लब र भारतको सिक्किम क्लबबीच हुनेछ।

प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। फाइनल खेल फागुन २८ गते हुनेछ।

 
 
  
 

You may also like