लुम्बिनीमा ५ सय जनाको अल्पकालीन भिक्षु प्रव्रज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा ५ सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रव्रज्या कार्यक्रम सुरु गरिएको छ। मंगलबार मायादेवी मन्दिर परिसरमा बौद्ध धर्मगुरुहरूद्वारा पहेलो चीवर प्रदान गर्दै श्रामणेर प्रव्रज्यामा सहभागी गराइएको हो।

अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजनामा तथा लुम्बिनी विकास कोष लगायत विभिन्न संस्थाहरूको सहआयोजनामा कुलपुत्र प्रव्रज्या कार्यक्रम सञ्चालन गरिएको हो। संघनायक बोधीसेन महास्थविर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष महास्थविर धम्म शोभन, थाई धम्मदूतका फरा उपाझ्याए पभना सहितका धर्मगुरुहरूले अल्पकालीन भिक्षुहरूलाई चीवर प्रदान गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्ध जन्मस्थल लुम्बिनीमा आएर बुद्धको उपदेश ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताए। उनले शान्ति स्थापनाका लागि बुद्धको शिक्षा प्रभावकारी रहेको उल्लेख गर्दै थाइल्याण्ड नेपालसँग सहकार्य गर्न सधैं तयार रहेको बताए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्ध शिक्षालाई व्यवहारमा लागू गर्नका लागि प्रव्रज्या कार्यक्रम महत्वपूर्ण रहेको बताए। उनले बुद्ध दर्शन कुनै व्यक्ति विशेषका लागि नभई सम्पूर्ण मानव जीवनका लागि भएकाले यसको अनुशीलन आवश्यक रहेको बताए।

अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु निग्रोधले बुद्ध शिक्षाको व्यावहारिक अभ्यास गर्न भिक्षु, लामा र गुरुहरूको आवश्यकता पर्ने उल्लेख गर्दै प्रव्रज्या कार्यक्रम त्यसैका लागि सञ्चालन गरिएको बताए।

अल्पकालीन भिक्षुहरूले पहेलो चीवर धारण गरी बुद्ध धर्मका १० नियमहरूको पालना गर्नुपर्नेछ। साधारण अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुहरूले आगमी चैत ३ गतेसम्म पूर्ण रूपमा बौद्ध नियमअनुसार जीवन बिताउनु पर्नेछ। स्थायी भिक्षु बन्नका लागि भने २२७ नियमहरूको पालना गर्नुपर्ने हुन्छ।

फागुन १४ गतेदेखि सुरु भएको प्रव्रज्या कार्यक्रमअन्तर्गत फागुन १६ गते ललितपुरस्थित अक्षेश्वर महाविहारमा श्रामणेरहरूको केश मुण्डन गरिएको थियो। मंगलबार पहेलो चीवर धारण गरेका श्रामणेरहरूले आफूलाई यो अवसर प्राप्त हुँदा अत्यन्तै हर्षित महसुस गरेको बताए।

प्रव्रज्या कार्यक्रममा सहभागी १२५० जनालाई पञ्चशील, अष्टशील र विनयपिटकका बारेमा जानकारी दिइने तथा दैनिक ध्यान अभ्यास गराइने आयोजकहरूले जनाएका छन्।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार अल्पकालीन भिक्षु प्रव्रज्या कार्यक्रम बुद्ध शिक्षाको प्रचार-प्रसारमा सहयोगी बन्नेछ। यसअघि सन् २०११ मा १,००० जना, २०१५ मा १,११२ जना, २०१९ मा १,११९ जना, २०२३ मा ५ जना र २०२४ मा १,२५० जनाले प्रव्रज्या लिएका थिए।

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्य, राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथ लगायतको उपस्थिति रहेको थियो।

प्रव्रज्या सामाजिक नेपालको व्यवस्थापनमा सञ्चालन भइरहेको कार्यक्रममा फागुन २२ गते भिक्षाटन, फागुन २४ गते लुम्बिनी उद्यानमा दीप प्रज्वलन तथा चैत ३ गते प्रमाणपत्र वितरणको कार्यक्रम तय गरिएको छ।

 
 
  
 

You may also like