बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशन ढिलाइ हुँदा आगामी निर्वाचनमा असर पर्ने भन्दै समयमै सम्पन्न गर्नुपर्ने तर्क प्रस्तुत गरे।
केसीले विशेष अवस्थामा अधिकतम ६ महिना थप्न सकिने भए पनि चुनाव प्रभावित हुने भएकाले महाधिवेशन ढिलो गर्नु उचित नहुने बताए। निर्वाचनपछि महाधिवेशन गर्नु पार्टीको वैधानिक अस्तित्वमै संकट आउन सक्ने उनको चेतावनी छ।

उनले पार्टीभित्र समूहहरू बन्नु स्वाभाविक भए पनि केवल स्वार्थका आधारमा बनेका समूहहरूले पार्टी र देश दुवैलाई हानी पुर्याउने बताए। संविधान संशोधनका लागि गठबन्धन दलभित्र मात्र सीमित नभई बाहिरी विज्ञहरूको समेत सहभागितामा समिति बनाएर अघि बढ्नुपर्ने उनले जोड दिए।
भ्रष्टाचार नियन्त्रणका लागि उनले ५ सय र १ हजार दरका नोट प्रतिबन्ध गर्नुपर्ने र शक्तिशाली छानबिन आयोग गठन गर्नुपर्ने आवश्यकता औँल्याए।
पार्टी नेतृत्वबारे बोल्दै केसीले १४औँ महाधिवेशनमा रहेको समूहलाई नै अगाडि बढाउनुपर्ने बताउँदै आफू नेतृत्व लिन तयार रहेको संकेत गरे।
सरकारप्रति असन्तुष्टि जनाउँदै उनले लोकतान्त्रिक दुई पार्टीको सहकार्यमा बनेको सरकार प्रभावकारी हुन नसकेको टिप्पणी गरे। संविधान संशोधनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सात बुँदे सहमतिविपरीत अभिव्यक्ति दिएको उनको दाबी छ। ‘प्रधानमन्त्रीले कुन सन्दर्भमा ०८७ सालमा संशोधनको कुरा गर्नुभयो, स्पष्ट छैन, तर यो सात बुँदे सहमतिसँग मेल खाँदैन,’ उनले भने।
अन्त्यमा, उनले पार्टीभित्र आफ्ना एजेन्डालाई साथ नपाए नेतृत्व लिन तयार रहेको धारणा व्यक्त गरे।