सैनामैनामा पहिलो सैनामैना गोल्डकप सुरु, उद्घाटन खेलमा मुर्गिया एफसी विजयी

सैनामैना। रुपन्देहीको सैनामैनामा आजदेखि प्रथम सैनामैना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा आयोजक मुर्गिया फुटबल क्लबले गोर्खा ब्वाइज बुटवललाई १-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

खेलको निर्णायक गोल मुर्गिया एफसीका जर्सी नम्बर १८ का खेलाडी रोशन पहाडीले खेलको ४७ औं मिनेटमा गरेका थिए। उनले डी-बक्सबाट प्रहार गरेको बल जाली चुमेपछि टिमले अग्रता लिएको थियो। गोर्खा ब्वाइजले खेलभरि बराबरी ल्याउने प्रयास गरे पनि सफल हुन सकेन।

प्रतियोगिताको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा ले सैनामैनामा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताए। उनले खेलकुदले सैनामैनाको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने विश्वास व्यक्त गरे।

नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्की ले सैनामैनामा प्रत्येक वडामा खेलमैदान निर्माण गरेर खेलाडी उत्पादनमा स्थानीय सरकारको ध्यान जानुपर्ने बताए। उनले निर्माणाधीन सैनामैना रंगशालाले खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बसन्त श्रेष्ठ ले खेलकुदले समाजलाई जोड्ने शक्ति राख्ने उल्लेख गर्दै नेपालले अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकेको उदाहरण प्रस्तुत गरे।

सैनामैना फुटबल क्लबका खेल संयोजक अशोक खडकाको अध्यक्षतामा भएको कार्यक्रममा एन्फा रूपन्देहीका अध्यक्ष लोक पुन, सैनामैना नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारी लगायतले प्रतियोगिताले सैनामैनालाई खेल पर्यटनको हब बनाउन मद्दत गर्ने धारणा राखे।

दश टोलीको सहभागिता रहेको प्रतियोगितामा भोली मंगलबार नेपाल पुलिस क्लब र रुपन्देहीको फर्साटिकर फुटबल क्लब भिड्नेछन्। खेल दिउँसो ३ बजे मुर्गियास्थित सैनामैना फुटबल रंगशालामा हुनेछ।

प्रतियोगिताको विजेता टोलीले नगद ७ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ। प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ।

 
 
  
 

You may also like