२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा, कति गते छ दशैँ

काठमाडौं । आगामी वर्ष वि.स. २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा शनिबार र अन्य बिदा गरी कुल ८८ दिन सार्वजनिक बिदा हुने भएको हो ।

प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार र ३६ दिन अन्य सार्वजनिक बिदा रहेका छन् । सरकारले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।

६ वटा दिवसमा राष्ट्रिय बिदा हुनेछ । मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, सहिद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा देशभरि बिदा हुनेछ।

त्यस्तै, बुद्धजयन्ती र पृथ्वीजयन्तीमा पनि देशभर बिदा दिने निर्णय भएको छ । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैं (असोज १३ देखि १८ गतेसम्म), तिहार (कात्तिक ३ देखि ७ गतेसम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, दुवै इद (इद उल फित्र र इद उल अजहा), महाशिवरात्रि र फागुपर्वमा मुलुकभरि सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।

राजपत्रमा उल्लेख भएअनुसार अस्पताल दूरसञ्चार, अध्यागमन, फोहरमैला व्यवस्थापन, फायरव्रिगेट, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् व्यवस्थापन आदि जस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिन दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्ने छ । त्यसरी खटिने कर्मचारीले खटिएवापत सट्टा बिदा पाउने छन् ।

देशभरका सबै सरकारी कार्यालयमा आगामी वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि तोकिएको छ । त्यस्तै, कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म कार्यालय समय रहने उल्लेख छ ।

शुक्रबार १० देखि ३ बजेसम्म सेवा प्रवाह गर्नुपर्ने छ । यसका साथै तोकिएका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले प्रदेशको धर्म, संस्कृति रीतिरिवाज समेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा छ दिनसम्मका लागि सार्वजनिक बिदा गर्न सक्नेछ । यसरी गरिएको बिदाबारे जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा जानकारी गराउनुपर्ने छ ।

 
 
  
 

You may also like