बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–१ बेथरी बेलबास करिडोरको पूर्वतर्फ गहुँबारीमा फागुन ८ गते फेला परेको एक महिलाको शवको पहिचान भएको छ भने हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरी अनुसन्धानअनुसार, मृतक ४० वर्षीया संगीता चौधरी दाङको लमही नगरपालिका–७ उच्चलिम्बुकी हुन्। घटनामा संलग्न रहेको आरोपमा रूपन्देही तिलोत्तमा नगरपालिका–१२ का ४२ वर्षीय अमिरीका थारु (अजय थारु)लाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, दुबैजना संगै ज्याला मजदुरी गर्ने गर्थे। काम सकेर फर्किने क्रममा मादक पदार्थ सेवनपछि उनीहरूबीच विवाद भएको थियो। झगडाकै क्रममा अजयले नजिकैको ढुंगाले प्रहार गरी संगीताको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
शव फेला परेको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा स्निफिङ डगसहितको टोली घटनास्थल पुगेको थियो। अनुसन्धानकै क्रममा अभियुक्त अजयलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए।
प्रहरीले पक्राउ परेका अजयविरुद्ध हत्या अभियोगमा प्रमाणहरू संकलन गरिरहेको र उनलाई जिल्ला अदालतबाट आठ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।