गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेब्रुअरीमा हालसम्मकै धेरै यात्रु आवागमन, उडान संख्यामा वृद्धि

बुटवल ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी महिनामा हालसम्मकै धेरै यात्रु आवागमन भएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबू तिवारीले आफ्नो फेसबुक पोस्टमार्फत सार्वजनिक गरेको विवरणअनुसार, फेब्रुअरी २०२५ मा कुल ११५ उडान-अवतरणमार्फत ६,७७९ यात्रु ओहोर-दोहोर गरेका छन्।
यो सङ्ख्या गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएयताकै सबैभन्दा बढी हो। फेब्रुअरी महिनामा फ्लाइ दुबई, जजिरा एयरवेज, थाई एयर एसिया, नेपाल एयरलाइन्स तथा चार्टर उडानमार्फत यात्रुहरू ओहोरदोहोर गरे।

फ्लाइ दुबईमार्फत २,४०३, जजिरा एयरवेजमार्फत ३,२६५, थाई एयर एसियामार्फत १,०९७, नेपाल एयरलाइन्समार्फत १ तथा चार्टर उडानमार्फत १३ यात्रु यात्रा गरेका छन्। तीमध्ये २११ विदेशी यात्रु रहेका छन्। नेपाल एयरलाइन्स र फ्लाइ दुबईमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका-जाने ट्रान्जिट यात्रुहरूको संख्या ४,०४० रहेको छ। महाप्रबन्धक तिवारीका अनुसार, नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएयता यात्रु संख्यामा निरन्तर वृद्धि हुँदै आएको छ। नोभेम्बर २०२४ मा ४,२७९, डिसेम्बर २०२४ मा ३,८७८, जनवरी २०२५ मा १,३६५ र फेब्रुअरी २०२५ मा ६,७७९ यात्रु ओहोरदोहोर गरेका छन्। फेब्रुअरी महिनामा यात्रु संख्यामा भएको उल्लेखनीय वृद्धिले भैरहवा विमानस्थलको सम्भावनालाई पुनः बल दिएको देखिन्छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिए पनि हालसम्म अन्तर्राष्ट्रिय उडानको संख्या सीमित रहेको छ।

पछिल्ला महिनाहरूमा यात्रु संख्यामा भइरहेको वृद्धिले भैरहवा हुँदै यात्रा गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेषगरी, नेपाल-खाडी मुलुक तथा दक्षिणपूर्वी एशियाबीच हवाई सम्पर्क विस्तार गर्न महत्त्वपूर्ण केन्द्र बन्दै गएको छ।

उडानको वृद्धि निरन्तर रहन सकेमा निकट भविष्यमा अन्य अन्तर्राष्ट्रिय एयरलाइन्स पनि भैरहवा उडान भर्न इच्छुक हुनसक्ने अपेक्षा गरिएको छ। महाप्रबन्धक तिवारीका अनुसार, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी २०२५ मा अन्तर्राष्ट्रिय यात्रु संख्यामा उल्लेखनीय वृद्धि भएको छ।

 
 
  
 

You may also like