राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहेका सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ ।

यस्तै, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् तथा सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सभाका अध्यक्ष दाहालले संविधानसभाका सदस्य विदुरप्रसाद सापकोटाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

 
 
  
 

You may also like