रात्रीकालीन खेल सम्भव हुने नेपालकै पहिलो क्रिकेट स्टेडियम तयार

by समतल अनलाइन

बुटवल। रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सम्पन्न भएको छ । स्टेडियमका निर्देशक विनोद कुँवरले फ्लडलाइट जडान सम्पन्न भएको जनाएका हुन् ।

नेपालमै पहिलो पटक रातको समयमा पनि प्रतियोगिता सञ्चालन गर्ने गरी करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको हो । नेपालको कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलोपटक हो । अब सोमबारदेखि लाइट टेस्टिङ (परीक्षण)को काम सुरु हुने निर्देशक कुँवरले जनाए ।

२०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्‌घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । अबको एक महिनाभित्र फ्लड लाइट पूर्ण रुपमा जडान गरी परीक्षण गरिने कुँवरले बताए ।

यो मैदानमा गत वर्षको फागुनयता एक सय भन्दा बढी खेल भइसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो । ‘भारतबाट पनि केही क्लबस्तरीय टिम आएर यहाँ आएर खेलेको पनि जानकारी गराउन चाहान्छौं’, उनले भने ।

नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा रहेको स्टेडियमका निर्देशक सूर्य कुँवरले बताए । चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स , चेञ्जिङ रुम र मिडिया बक्स निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । २५ हजार दर्शक क्षमताको प्यारापिटसहित करिब ५० करोड लागतको परियोजनाको ५० प्रतिशत बढी वित्तीय प्रगति भइसकेको कुवरले बताए । ५ वर्षमा पूरा गर्ने लक्ष्य रहेकोमा अब २ वर्षभित्र सबै काम सम्पन्न हुने उनले बताए ।
भिडियो :

 
 
  
 

You may also like