क्यानन माविद्वारा विश्व साइकल यात्रीलाई स्वागत तथा सम्मान

by समतल अनलाइन

बुटवल । बुटवल सुख्खानगरमा रहेको क्यानन माविले विश्व साईकल यात्रीलाई स्वागत तथा सम्मान गरेको छ । गेष्ट अफ मन्थ कार्यक्रम अन्तरगत साईकल यात्री भगत खत्री र अजय मिश्रलाई स्वागत तथा सम्मान गरेको हो । विद्यालयका प्राचार्य शंकर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व साईकल यात्री भगत खत्रीले यात्राको क्रममा भोगेका अनुभवहरु सुनाउनु भएको थियो ।

उहाँले साईकल यात्रा अनुभव संगाल्ने एउटा माध्यम भएकाले विश्वका हरेक कुरालाई निहाल्नृ अवसर साईकल यात्राले दिएको बताउनुभयो । उहाँले २१ वर्षमा ११५ देश भ्रमण गरिसकेको र निकट भविष्यमै बाँकी ५० राष्ट्रको भ्रमण गर्ने जानकारी गराउँदै उदेश्य प्राप्तिको लागि आत्मविश्वास लगनशिलता र निरन्तरता आवश्यक हुने प्रस्ट पार्नुभयो । विद्यालयको सेमिनार हलमा सञ्चालन भएको उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य शंकर भण्डारीले मानिसहरुले लिने उद्धेश्य र उदेश्य प्राप्तिको लागि निरन्तर मेहनतको महत्व रहने उल्लेख गर्नुभयो । उहाँले कठिन परिश्रम गर्ने मानिस र आफुमा विश्वास गर्ने मानिस सफल हुने विचार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा कक्षा नौ की छात्रा मिक्सार रानाले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो अध्ययन र लगनमा थप सक्रिय भएर लाग्न प्रेरणा मिलेको बताउनुभयो । विद्यालयले समयसमयमा आयोजना गर्ने गेष्ट आफ मन्थको संयोजन विद्यालयका निमावि संयोजक विजय पराजुलीले गर्नुभएको थियो ।

 
 
  
 

You may also like