बुटवल । बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुलले रुपन्देही शद्धोधनका चार जना किसानलाई सम्मान गरेको छ । किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनले बजार र मुल्य दुबै नपाएको भन्दै दीप बोर्डिङ हाई स्कुलले विद्यालयमै कार्यक्रम गरेर किसानलाई सम्मान सहित प्रोत्साहन गरेको हो ।
शुद्धोधन–१ बलेवाका चार किसानले उत्पादन गरेको बन्दागोवी विद्यालय परिषरमा ढुवानी गरेर उनीहरुको उत्पादनको सहि मुल्य दिइएको विद्यालयले जनाएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडानम्बर–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, विद्यालयका प्रिन्सिपल टिकाराम न्यौपानले बलेवाका किसान शिवकरण मल्लाह, अध्या मल्लाह, उमेश मल्लाह र राममिलन लोधलाई दोसल्ला, सम्मानपत्र र नगद सहित सम्मान गरिएको हो ।
किसानलाई सम्मान गर्दै वडाध्यक्ष पंगेनीले विद्यालयले सुरु गरेको किसान सम्मान कार्यक्रमले राज्यलाई पनि किसान सम्मान गर्नु पर्दछ भन्ने सिकाई हुन जरुरी रहेको बताउनुभयो । उहाँले राज्यले गर्नु पर्ने काम विद्यालयले गरेर राज्यलाई नै चुनौती दिएको उल्लेख गर्दै किसानलाई प्रोत्साहन गर्ने कार्यक्रममा राज्यको भुमिका सकारात्मक हुँदै जानु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रिन्सिपल टिकाराम न्यौपानेले समयसमयमा किसानलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको उल्लेख गर्दै किसानले उत्पादन गरेको बस्तुले बजार र मुल्य दुबै नपाउँदा दुख लाग्ने गरेको बताउनुभयो । उहाँले रुपन्देहीका किसानकालागि केही भएपनि प्रोत्साहन र हौसला मिलोस भनेर विद्यालयमा किसानको उत्पादन विक्रि वितरण कार्यक्रम र किसान सम्मान कार्यक्रम गरिएको प्रिन्सिपल न्यौपानेले बुटवल डायरीलाई जानकारी दिनुभयो ।
विद्यालयका शिक्षक विजय सापकोटाको संचालनमा भएको कार्यक्रममा ब्यवसायी मेघनाथ पौडेल, किसान राममिलन लोध, विद्यालयका उपप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्र कुमार शाक्य लगायले किसानले उत्पादन गरेको बस्तुले सहि बजार र मुल्य पाउनु पर्ने सुझाव दिनु भएको थियो । शुद्धोधन बलेवाका किसानले खरिद गरेको साढे १२ हजार बरावरको गोवी विद्यालयले खरिद गरेर विद्यार्थी, शिक्षक, कर्मचारीलाई वितरण गरेको थियो ।
किसान सम्मान कार्यक्रम अन्तरगत बुटवल उपमहानगर वडानम्बर–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीको समन्वयमा १२ हजार ५ सय र दीप बोर्डिङले १२ हजार ५ सय गरि २५ हजार वरावरको आर्थिक सहयोग चार किसानलाई गरिएको विद्यालयले जनाएको छ । यसभन्दा अगाडि पनि विद्यालयले २०७५ सालमा चितवनका किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको खरिद गरि किसान सम्मान कार्यक्रम गरेको थियो ।