‘रन टु शाइन’ टेन के दौड: मिङमार तामाङ र सन्तोषी श्रेष्ठ च्याम्पियन, नगद एक–एक लाख पुरस्कार

by समतल अनलाइन
Shares

बुटवल ।शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘रन टु शाइन’ टेन के (१० किलोमिटर) दौड प्रतियोगिताको खुला विधामा पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठ च्याम्पियन बनेका छन्। प्रतियोगितामा उपाधि जित्दै दुवै खेलाडीले नगद एक–एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। तीन विधामा आयोजना गरिएको प्रतियोगितामा १,६०० जना सहभागी दर्ता भए पनि ६०० जनाले प्रतिस्पर्धा गरेका थिए। बैंकको प्रधान कार्यालय कालिकानगरबाट सुरु भएको प्रतियोगितामा उल्लेखनीय उत्साह देखिएको थियो। महिलातर्फ सन्तोषी श्रेष्ठले निर्धारित १० किलोमिटर दुरी ३६ मिनेट २१ सेकेन्डमा पूरा गरिन् भने पुरुषतर्फ मिङमार तामाङले ३१ मिनेट ५३ सेकेन्डमा दौड सम्पन्न गरे। महिलातर्फ पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथों र नारायणी भण्डारी पाँचौं बनिन्। पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथो र अक्कल बडुवाल पाँचौं भए। दुवै विधाका दोस्रोले रु. ४०,०००, तेस्रोले रु. २०,०००, चौथोले रु. १५,००० र पाँचौं हुनेले रु. १०,००० पुरस्कार प्राप्त गरेका छन्।

स्थानीय ५ किलोमिटर दौडतर्फ पुरुषतर्फ शिव रायमाझी विजेता बने भने अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथों स्थानमा रहे। महिलातर्फ पुजा पछाई पहिलो, तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथों बनिन्। भेट्रान्सतर्फ महिलामा मनकुमारी रायमाझी प्रथम र गोमा सुबेदी दोस्रो बने भने पुरुषतर्फ युव बहादुर राना प्रथम, गोविन्द थापा दोस्रो, केशर सिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथों भए। भेट्रान्स विजेताले रु. १५,०००, दोस्रोले रु. १०,०००, तेस्रोले रु. ५,००० र चौथो स्थान हासिल गर्नेले रु. २,५०० पुरस्कार प्राप्त गरे।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक हुँदै पुनः बैंककै कार्यालयमा आएर समापन भएको थियो। प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स एसोसियसनले स्वीकृति प्रदान गरेका थिए। विजयी धावकहरूलाई अन्तर्राष्ट्रिय ओलम्पिक विजेता धावक बैकुण्ठ मानन्धर, प्रदेश सांसद एवं पूर्व मन्त्री विष्णु पन्थी, बैंकका अध्यक्ष थानेश्वर पौडेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पुरस्कार प्रदान गरेका थिए।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लुम्बिनी प्रदेशकै एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो, जसको अधिकृत पूँजी रु. ८ अर्ब, जारी पूँजी रु. ४.८७ अर्ब र चुक्ता पूँजी रु. ४.८७ अर्ब रहेको छ। २०८१ पौष मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार निक्षेप संकलन रु. ६९.७२ अर्ब रहेको छ, जसमा वचत निक्षेप ३६.९३%, मुद्धती निक्षेप ५६.७४% र कल, चल्ती तथा अन्य निक्षेप ६.३३% रहेको छ। बैंकको कर्जा लगानी रु. ५७.४९ अर्ब रहेको छ, जसमा व्यापार कर्जा १८.९१%, कृषि कर्जा ५.९१%, आवास निर्माण कर्जा ३.८२%, विपन्न वर्ग कर्जा ५.८९%, जग्गा खरिद कर्जा ४.९५%, होटल तथा पर्यटन कर्जा १६.८५%, उद्योग कर्जा १४.२१%, उपभोग्य कर्जा २०.३५%, हायरपर्चेज कर्जा १.४८%, अस्पताल तथा शिक्षा लगायत अन्य क्षेत्रमा ६.५५% र अन्य कर्जा १.०८% रहेको छ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा श्रोतमा कर कट्टी रु. ३५.५७ करोड, आयकर रु. ३७.०६ करोड गरी कुल रु. ७२.६४ करोड सरकारी राजस्वमा योगदान गरेको छ। हाल बैंकमा ९७० जना कर्मचारी कार्यरत छन्। शाइन रेसुङ्गा बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ, जसमा इमर्जिङ एशिया बैंकिङ अवार्ड २०२३ (इण्डियन च्याम्बर अफ कमर्स) अन्तर्गत बेस्ट परफर्मेन्स अन प्रॉफिटबिलिटी, बेस्ट परफर्मेन्स अन ग्रोथ र बेस्ट बैंक (रनर-अप) अवार्ड, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा २०२३ मा नेसनल बेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड (सर्टिफिकेट अफ मेरिट) तथा न्यु बिजनेस एज प्रा. लि. द्वारा बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ द इअर २०२४ अवार्ड समावेश छन्।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गो ग्रीन प्रोजेक्टमार्फत २०८०/८१ मा १,००० रुख बिरुवा रोपण गरेको छ भने २०७९/८० सम्म कुल १६,००० बिरुवा रोपण गरिसकेको छ। वित्तीय साक्षरता अभियान अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा ११५ वटा कार्यक्रम सम्पन्न गरी ५,९८३ किसान, साना व्यवसायी, वैदेशिक रोजगारीमा जाने कामदार, विद्यार्थी, रेमिटेन्स प्राप्तकर्ताहरूलाई सहभागी गराएको छ। बैंकका अध्यक्ष थानेश्वर पौडेलले ग्रामीण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यमहरूमा कर्जा लगानी बढाउने तथा डिजिटल कारोबार प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

You may also like

This will close in 0 seconds