पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने

by समतल अनलाइन

बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४३ औं मगर दिवस (फागुन १५) पाँच दिवसीय रुपमा मनाउने भएको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले आइतबार बुटवलमा पत्रकारहरुसंगको भेट्घाटमा संघका बुटवल उपमहनगर अध्यक्ष बसन्ती साठिघरे मगरले सो कुराको जानकारी दिनुभएको हो । मगर दिवसलाई यसपटक पनि जागरण र अधिकार प्राप्तिको लडाईकै रुपमा मनाउने भएपनि त्यसमा थप केहि रचनात्मक कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष बसन्ती साठिघरेले जानकारी दिनुभएको छ । पाँच दिवसीय कार्यक्रम अनुसार पत्रकारहरुसंग भेट्घाट, समसामयीक विषयमा अन्तरक्रिया, अस्पतालमा फलफूल वितरण, बाजेबजै थानमा सरसफाई र फागुन १५ गते बुटवलमा मूल समारोह गरेर मगर दिवसको समापन गरिने छ ।

सो अवसरमा बोल्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरे मगरले मगर दिवसको अवसरमा रुपन्देहीका स्थानीय तहहरुसंग सार्वजनिक विदाको लागि माग गर्नुभएको छ ।

रुपन्देहीमा करिब दुई लाख मगरहरुको बसोबास रहेको उल्लेख गर्दै उहाँले मगर दिवसमा सार्वजनिक बिदा दिनको लागि स्थानीय तहहरुले कन्जुस्याई गर्न नहुनेमा जोड दिनुभएको छ । स्थानीय तहहरुले मगर दिवसको दिन सार्वजनिक विदालाई आफ्नो क्यालेण्डरमा समावेश गर्नका लागि पनि जिल्ला अध्यक्ष बारघरेले आग्रह गर्नुभएको छ । संघको यो आग्रह अहिले शालीन ढङ्गमा गरिएको र यसलाई सुनुवाई नगरी अटेर गरेमा आगामी वर्ष ‘रुपन्देही बन्द’ सम्मको कार्यक्रम आयोजना गरिने चेतावनी दिनुभएको छ ।

यसबाहेक मगर समुदायको भाषालाई लुम्विनी प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षाको सुलभ व्यवस्था, राज्यको हरेक संरचना र क्षेत्रमा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुपर्ने, नेपालका प्रथम शहीद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका मागहरु राज्यले तत्काल पुरा गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । सो अवसरमा नेपाल मगर संघ बुटवल उपमहानगर समिति उपाध्यक्ष लुम बहादुर सारुमगर, सचिव हेमन्त बुढाथोकीमगर लगायतले बोल्नुभएको थियो ।

 
 
  
 

You may also like