राष्ट्रको स्थायित्व र समृद्धिका लागि राजसंस्था र प्रजातन्त्र मिलेर अघि बढ्नुपर्ने: राप्रपा रुपन्देही क्षेत्र नम्बर २ का सचिव श्रेष्ठ

by समतल अनलाइन

बुटवल। राप्रपा रुपन्देही क्षेत्र नम्बर २ का सचिव लक्ष्मण प्रसाद श्रेष्ठले पनि पूर्वराजा ज्ञानेन्द्रको आह्वानलाई समर्थन गर्दै देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न राजसंस्था र प्रजातन्त्रबीच समन्वय आवश्यक रहेको बताएका छन्।

श्रेष्ठले भने, ‘राजाको पछिल्लो आह्वानप्रति संवेदनशील हुँदै देशलाई गम्भीर संकटबाट बाहिर निकाल्न आजकै दिनबाट सबै पार्टी, समूह र नेपाली मिलेर अघि बढ्नुपर्छ। यही मेरो सबैमा आग्रह छ।’

उनले थपे, ‘देशमा कुशासन, लूटतन्त्र, सर्वत्र व्याप्त भ्रष्टाचार, बेरोजगारी, शैक्षिक अस्तव्यस्तता, आम विदेशगमन, क्षतविक्षत अर्थतन्त्र र राजनीतिक बेथितिले गम्भीर अवस्था उत्पन्न भएको छ। राष्ट्रिय एकता सुदृढ गरी देश बचाउने र बनाउने महत्वपूर्ण अभिभारा आजको पुस्ताको काँधमा आएको छ।’

श्रेष्ठले वर्तमान राजनीतिक परिस्थितिलाई सुधार गर्दै देशलाई समुन्नत दिशामा लैजान राजसंस्थाको भूमिका अपरिहार्य रहेको बताए।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रको समृद्धि र एकताको लागि सबै देशबासीलाई आह्वान गर्दै त्याग गर्न आफू तयार रहेको बताएका थिए। उनले सबै पक्षलाई समेटेर अघि बढ्ने आवश्यकता रहेको उल्लेख गरेका थिए।

श्रेष्ठले यस सन्दर्भमा थप्दै भने, ‘राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा राजाले व्यक्त गरेको भावना मननीय छ। यसबारे गम्भीर छलफल गरी आगामी रणनीति तय गर्नुपर्छ। राजसंस्था र प्रजातन्त्रलाई समायोजन गर्दै देशलाई स्थायित्व प्रदान गर्नुपर्छ।’

राष्ट्रिय एकता, राजनीतिक स्थायित्व र समृद्धिको पक्षमा सबै नेपाली एकजुट हुनुपर्नेमा सचिव श्रेष्ठले जोड दिएका छन्। उनले निष्क्रिय राजनीतिक व्यवस्थाका कारण आम नेपाली निराश भएको उल्लेख गर्दै यसलाई सच्याउनुपर्ने धारणा व्यक्त गरे।

 
 
  
 

You may also like