बुटवलमा चौथो राष्ट्रिय नृत्य दिवस, जितगढी किल्लामा सांस्कृतिक प्रस्तुति

by समतल अनलाइन

बुटवल।नृत्य निर्देशक संघ नेपाल, लुम्बिनी प्रदेश समितिको आयोजनामा ऐतिहासिक जितगढी किल्लामा चौथो संस्करणको राष्ट्रिय नृत्य दिवस भव्य रूपमा मनाइएको छ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले कलाकारहरूको पक्षमा उपमहानगर सधैं सकारात्मक रहेको बताए। ऐतिहासिक जितगढी किल्लाको प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले जितगढीमै कार्यक्रम आयोजना गरिएको नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिए।

यस अवसरमा विभिन्न जिल्लाबाट आएका सहभागीहरूले विभिन्न समुदाय तथा जातजातिका सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमका संचालक डिल्ली नारायण पाण्डेका अनुसार, कार्यक्रममा १० जिल्लाका १५ भन्दा बढी टिमसहित करिब २०० जना सहभागी थिए।

नगर उपप्रमुख साबित्रा अर्याल, नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, महासचिव ऋषिकेश श्रेष्ठ, प्रदेश उपाध्यक्ष मिना बुढाथोकी, उपाध्यक्ष अर्जुन साहलगायतले कार्यक्रममा मन्तव्य राख्दै बुटवल कलाकारिताको केन्द्र बन्दै गएको बताए।

नेपालका पहिलो लोक नृत्य निर्देशक भैरवबहादुर थापाको जन्मदिनको अवसर पारेर नृत्य निर्देशक संघले प्रत्येक वर्ष राष्ट्रिय नृत्य दिवस मनाउँदै आएको छ। तर, यो दिवस अहिलेसम्म सरकारी रूपमा घोषणा गरिएको छैन।

नृत्य निर्देशक संघले पहिलो राष्ट्रिय नृत्य दिवस काठमाडौंमा, दोस्रो बुटवलमा, तेस्रो बनेपामा, र चौथो पुनः बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश अध्यक्ष शाहले जानकारी दिए।

 
 
  
 

You may also like