वडाअध्यक्षको माफीपछि रोहिणी गाउँपालिकामा विवाद समाधान

by समतल अनलाइन

भैरहवा: रुपन्देहीको रोहिणी गाउँपालिका-२ का वडाअध्यक्ष करम हुसेन खानले माफी मागेपछि जनप्रतिनिधि र कर्मचारीबीच विवाद समाधान भएको छ। बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि वडाअध्यक्ष खानले आफ्नो गल्ती स्वीकार्दै माफी मागेपछि सहमति जुटेको हो।

२०८१ फागुन ५ गते रोहिणी गाउँपालिकाको गाउँ कार्यपालिका बैठकमा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधु प्रसाद घिमिरेले आफ्नो विचार राख्ने क्रममा वडाअध्यक्ष खानले उनीमाथि आक्रमण गरेका थिए। उनले घिमिरेलाई हातपात, कुटपिट र गालीगलौज गरेको विषयमा आत्मालोचना गर्दै आगामी दिनमा यस्ता कुनै पनि गैरकानुनी कार्य नगर्ने प्रतिबद्धता जनाएका छन्। साथै, रोहिणी गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूमाथि कुनै पनि गैरकानुनी कार्य नगर्ने र यदि गरेमा कानूनी कारबाही स्वीकार गर्ने सहमति व्यक्त गर्दै उनले लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।

सहमति प्रक्रियामा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारी, रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष रमेश प्रसाद पाण्डेय, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष कमल पराजुली, नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेय, तथा राष्ट्रिय कर्मचारी संगठन (निजामती) रुपन्देहीका अध्यक्ष उत्सव न्यौपानेको रोहबरमा सहमति भएको हो।

 
 
  
 

You may also like