रुपन्देही । भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी –(केआइआइटी) को छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ । हिजो साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानीय स्वर्गद्वारीघाटमा दाहसस्कार गरिएको हो ।
लम्सालको शवलाई केहि समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी) मा राखिएको थियो । लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केहि समय राखिएको थियो ।
त्यसपछि मध्यराति नै अन्तिम सँस्कार गरिएको हो ।
लम्सालको अन्तिम संस्कारमा भैरहवावासीको ठूलो संख्यामा सहभागिता रहेको थियो । केआइआइटीमा स्नातक अन्तिम बर्षमा अध्ययनरत भैरहवाकी २१ बर्षीया प्रकृति लम्साल गत आइतबार अपराह्न होस्टलको कोठामा मृत भेटिएकी थिइन्। साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।
चर्को आलोचनापछि विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । नेपाली विद्यार्थीलाई धम्क्याएको विश्वविद्यालय र प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन् । प्रकृतिको मृत्युबारे ओडिसाको विधानसभामा समेत प्रश्न उठेको थियो । ओडिसा सरकारले नै यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।
प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । श्रीवास्तवले पटक पटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिंदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भएको छ । कलेजले उल्टो पीडकलाई नै साथ दिएको आरोप छ । यो घटनालाई लिएर नेपाल र भारतका विद्यार्थी आन्दोलित छन् भने संसदमा पनि प्रश्न उठेको छ ।