तिलोत्तमामा ५० युवा सहभागी नीति संवाद: वातावरणीय नेतृत्वमा जोड

by समतल अनलाइन

बुटवल । तिलोत्तमा नगरपालिकामा जलवायु शासनमा युवाको सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले नीति सम्वाद कार्यक्रम सम्पन्न भएको छ। युएनडिपीको आयोजनामा तथा तिलोत्तमा नगरपालिकाको सहजीकरणमा भएको उक्त कार्यक्रममा १७ वडाका ५० जना युवाहरु सहभागी भएका थिए।

कार्यक्रममा तिलोत्तमा वडा नम्बर ६ का वडाध्यक्ष तथा आर्थिक विकास संयोजक गणेश पाठक विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। उनले जलवायु परिवर्तन तथा वातावरण संरक्षणमा युवाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै, नीतिगत अभ्यास नगरसभाबाटै पारित हुनु पर्ने कुरामा जोड दिए।

कार्यक्रमको अध्यक्षता युवा सल्लाहकार तथा कार्यक्रम संयोजक अर्जुन खरेलले गरेका थिए। उनले युवाको सहभागिता, सहयोग तथा स्वसेवकको भूमिकालाई अझ प्रवर्द्धन गर्नुपर्ने बताए।

तिलोत्तमा नगरपालिका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले वन तथा वातावरण प्रमुख गोरख खनालसँगको सहकार्यमा युवाहरुलाई वातावरणीय अभ्यासमा संलग्न गराउने योजनाबारे जानकारी दिए। उनले नगरपालिकाले प्रत्येक महिना यस सम्बन्धी बैठक राख्ने जानकारी गराए।

वातावरण शाखाका भुपती ज्ञवालीले युवाहरुको नीति निर्माणमा सहभागिता बढाउनु पर्ने बताए भने युएनडिपीकी प्रतिनिधि मिना शर्माले जलवायु नीति सम्वन्धी कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिइन्।

वातावरण शाखाका प्रमुख तथा इन्जिनियर युवराज पन्थीले वातावरणीय कार्यक्रममा युवाहरुको संलग्नता आवश्यक रहेको बताउँदै यसलाई अझ सशक्त बनाउन आग्रह गरे।

कार्यक्रमको संचालन बरदान आचार्यले गरेका थिए।

 
 
  
 

You may also like