रासस वार्षिकोत्सवमा बुटवलमा ‘स्थानीय सञ्चारमाध्यम र सेवाग्राही प्रवर्द्धन’ विषयक अन्तरक्रिया

by समतल अनलाइन
Shares

बुटवल। राष्ट्रिय समाचार समिति (रासस) को ६४ औं वार्षिकोत्सवको अवसरमा “स्थानीय सञ्चारमाध्यम र रासस सेवाग्राही प्रवर्द्धन” विषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवलले सञ्चारकर्मी तथा सञ्चारगृहलाई समान व्यवहार गर्ने बताइन्। उनले देशका दुई ठूला पार्टीहरू मिलेर सुशासन र विकासलाई तीव्रता दिएको उल्लेख गरिन्।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेर बहादुर केसीले राससले व्यवसायिक तथा समाचार सामग्रीमा सुधार ल्याएको बताउँदै, स्थानीय सञ्चारमाध्यमको अभिभावकको भूमिकामा रहेको राससले पालिका विशेष स्टोरीहरू प्रकाशन गर्नुपर्ने सुझाव दिए।

प्रेस चौतारी नेपाल रुपन्देहीकी अध्यक्ष भगवती पाण्डेले सञ्चारमाध्यम संकटमा परेका कारण राससले अग्रणी भूमिका खेल्नुपर्ने बताइन्। त्यस्तै, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अमृत गिरीले शुभकामना व्यक्त गर्दै, राज्यका सकारात्मक कार्यहरूलाई प्रचारप्रसार गर्न राससलाई आग्रह गरे।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले राज्यसँग सम्बन्धित समाचारहरू बिक्री गर्न नहुने धारणा राख्दै, राससका सेवाग्राही र ग्राहकहरू बढ्दै गएको बताए। नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले राससलाई स्थानीय र प्रदेश तहका विकास तथा समृद्धिसम्बन्धी समाचारहरू उठान गर्न सुझाव दिए। साथै, उनले बुटवलमा महिलाहरूलाई उद्यमशीलता, सीप विकास, मन्टेश्वरी तालिम तथा केयर गिभर योजनासँग जोड्नुपर्ने बताए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले विश्वव्यापी आर्थिक संकटसँगै नयाँ सञ्चारमाध्यमहरू उदाएको बताए। उनले पछिल्लो समय राससको लोकप्रियता बढेको बताउँदै, यसको विश्वसनीयतामा प्रश्न उठाउनु आवश्यक नरहेको उल्लेख गरे। स्थानीय सञ्चारमाध्यम संकटमा परेकाले न्यूनतम शुल्क लिएर सेवा प्रदान गर्नुपर्ने उनको सुझाव थियो।

लुम्बिनी सञ्चार समन्वय परिषद्का अध्यक्ष मिलन गाहाले राससले समाचार सामग्रीमा नयाँपन ल्याएको उल्लेख गर्दै, तीन तहका सरकारले सञ्चारमाध्यमलाई कस्तो प्राथमिकता दिइरहेका छन् भन्ने विषय महत्वपूर्ण रहेको बताए।

राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले राससको सेवा थप प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताए। कार्यक्रमको सञ्चालन राससकी रुपन्देही संवाददाता छाया पन्तले गरेकी थिइन्।

You may also like