काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) अन्तर्गतका परियोजनाहरू स्थगित भएको छ । एमसीसीले अर्थ मन्त्रालयलाई पत्राचार गरी ९० दिनका लागि परियोजना स्थगित भएको जानकारी गराएको छ । अर्थ मन्त्रालयले मंगलबार प्रेस बिज्ञप्तिमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार एमसीसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू स्थगन भएको जानकारी दिएको छ ।
एमसीसीमार्फत नेपालमा प्रसारण लाइन र सडक निर्माणका काम अघि बढेको थियो । नेपालमा विद्युत प्रसारणलाइन बनाउन ५० करोड अमेरिकी डलर बराबरको अनुदान दिने घोषणा गरेको एमसीसीले फागुन २ गते इमेल पठाएर सबै प्रकारका भुक्तानी रोकेको जानकारी दिएको छ । नेपालमा एमसीसी परियोजना कार्यान्वयन गर्न एमसीए–नेपाल गठन गरिएको थियो ।
‘कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसिसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ । अमेरिकी सरकारले २ परियोजना एमसीसी र यूएसएडमार्फत सिधै नेपालमा अनुदान दिने गरेको छ ।
यसअघि अमेरिकी अनुदान स्थगन घोषणाले नेपालमा सुरु भएको एमसीसी परियोजना नरोकिने अर्थ मन्त्रालयको विश्वास थियो । सन् २०१७ सेप्टेम्बरमा अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालसँग सम्झौता गरेको थियो । एमसीसीले नुवाकोटको रातामाटेदेखि नवलपरासीको बर्दघाटसम्म ४०० केभीको प्रसारणलाइन निर्माण गर्दैछ । एमसीसी बोर्डले सुरुमा ५०० मिलियन डलर सहायता दिएकोमा अहिले थप ५० मिलियन दिने निर्णय गरेको छ ।
यूएसएडले नेपालमा २०८ परियोजनामा काम गरेको छ । यसअन्तर्गत २०८ मध्ये सबैभन्दा बढी योजना स्वास्थ्य क्षेत्रमा ६८, कृषि क्षेत्रमा ४६, निर्माण र उत्पादनतर्फ २१, शिक्षा क्षेत्रमा १६, आर्थिक क्षेत्रमा ११, सामाजिक सुरक्षामा ११, परिवार र शिशु कल्याणमा ९, ऊर्जामा ९, वातावरणमा ९ र अन्य सामुदायिक विकाससम्बन्धी कार्यक्रम रहेका छन् ।
२०२२ भदौमा अर्थ मन्त्रालयसँग यूएसएडले ६९८ मिलियन डलर खर्च गर्ने सम्झौता गरेको थियो । उक्त कार्यक्रम सञ्चालनमै छ । त्यसबाहेक फिड द फ्युचर्स कार्यक्रम अन्तर्गत ५६ लाख डलर प्रतिबद्धता गरेकोमा २० मिलियन खर्च भएको छ । त्यसबाहेक यूएसएडले सहयोग गरेका विश्व स्वास्थ्य संगठन, विश्व बाल संगठन लगायतले नेपालमा गरिरहेका कार्यक्रम समेत प्रभावित हुने देखिएका छन् ।
यूएसएडले २०२४ मा नेपालमा सबैभन्दा बढी पोषण कार्यक्रममा खर्च गरेको छ । २२.९७ मिलियन डलर खर्च गरेको उसले कृषिमा १९.९९ मिलियन, एजुकेसन स्वाप ७.८४ मिलियन, रेड बुक सपोर्ट प्रोग्राममा ७.८२ मिलियन, ऊर्जा नेपालमा ७.५५ मिलियन अमेरिकी डलर खर्च गरेको छ । यूएसएडले विभिन्न एजेन्सीमार्फत १९ करोड २६ लाख डलर खर्च गरेको थियो ।