चौथो राष्ट्रिय नृत्य दिवस बुटवलमा, देशभरका नृत्य निर्देशकहरूको भव्य जमघट हुने

by समतल अनलाइन

बुटवल। चौथो राष्ट्रिय नृत्य दिवसको अवसरमा नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशले बुटवलको ऐतिहासिक जितगढीमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष लोकेन्द्र शाहले देशभरका नृत्य निर्देशकहरूको बुटवलमा भव्य जमघट हुने जानकारी गराएका छन्।

उनले लुम्बिनी प्रदेशका ६ जिल्लासहित देशभरका १६ भन्दा बढी जिल्लाका नृत्य निर्देशक तथा कलाकारहरू सहभागी हुने बताए।

नृत्य निर्देशक संघद्वारा आयोजित यो कार्यक्रम पहिले काठमाडौं, दोस्रो पटक बुटवल ,तेस्रो पटक बनेपा र चौथो पटक पुन: बुटवलमा आयोजना हुन लागेको हो। यसपटकको कार्यक्रममा विभिन्न प्रदेशका प्रतिनिधिहरूको समेत विशेष उपस्थिति रहने जनाइएको छ।

त्यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका नेवार समुदायको लाखे नाच, थारु समुदायको थारु नाच, मगर समुदायको कौडा नाच लगायतका मौलिक सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिनेछ।

निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। कार्यक्रम दिउँसो १२ बजेबाट सुरु हुनेछ।

बुटवल उपमहानगरपालिका र नृत्य निर्देशक संघ रुपन्देहीको संयुक्त आयोजना रहेको यस कार्यक्रममा लोकसंस्कृति, नृत्य र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

 
 
  
 

You may also like