भैरहवा ।मेयर आवास कार्यक्रम अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीव्र रूपमा घर निर्माण कार्य अगाडि बढाइरहेको छ। चालु आर्थिक वर्षमा नगरपालिकाले सात विपन्न परिवारको लागि घर निर्माण गरिरहेको छ।
नगर प्रमुख ईन्जिनियर साकार श्रेष्ठका अनुसार सात परिवारका लागि ठेक्का सम्झौता भइसकेको छ र हाल ती घरहरूको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। यस कार्यक्रमअन्तर्गत सिद्धार्थनगर नगरपालिका-१ को नौडिहवामा मुन सरिफ, रानिगाउँमा राम सेवक अहिर, वडा नं. ४ को दोघारामा जगदीश पाण्डे, एरपोर्ट नजिक मुरली केवट, वडा नं. ६ को दयापथमा किस्मत हरिजन, वडा नं. ८ को बसडिलियामा घनश्याम कहाँर, तथा वडा नं. ११ को भुजौलीमा अयोध्या भुँईहारका लागि घर निर्माण गरिँदैछ। यी घरहरू आगामी चैत मसान्तभित्र सम्पन्न गरी सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिनेछ।
कुल ३७ लाख ६२ हजारको लागतमा केटिएस बिल्डर प्रा.लि.ले निर्माण गरिरहेको उक्त घरहरू एकतले रहनेछन्, जसमा टिनको छानो, बाथरुम, किचन, र बेडरुमसहित परिवारलाई बस्न मिल्ने सम्पूर्ण सुविधा उपलब्ध हुनेछ।
सिद्धार्थनगर नगरपालिकाले ‘नगरमा कोही पनि घरबारविहीन हुन नपरोस्’ भन्ने उद्देश्यले प्रत्येक वर्ष मेयर आवास कार्यक्रम सञ्चालन गर्दै आएको छ। विपन्न परिवारहरूलाई छनोट गरेर निश्चित बजेट विनियोजन गरी उनीहरूका लागि आवास निर्माण गरिन्छ। नगर प्रमुख ईस्तियाक अहमद खानका अनुसार यो कार्यक्रम सफल देखिएकाले नगरपालिकाले हरेक वर्ष यसलाई निरन्तरता दिँदै आएको छ। बजेट अभावका कारण एकैपटक धेरै लाभग्राहीलाई समेट्न नसकिएकोले आगामी वर्षमा बजेट वृद्धि गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना रहेको उनले बताए।